२४ वर्षपछि नेपाल बारको महासचिवमा एमाले, यज्ञमणिलाई केदारले हराए
२८ चैत, काठमाडौँ । २४ वर्षपछि नेपाल बारको महासचिवमा एमाले निकटका कानुन व्यवसायी केदार कोइराला विजयी हुनुभएको छ । २०५७ सालमा सतिशकृष्ण खरेल महासचिवमा निर्वाचित भएपछि एमाले निकटका उम्मेदवारले बार माहसचिवमा जित निकाल्न सकेका थिएनन् ।
यो पटक माओवादी, रास्वपा, नेकपा एस र राप्रपाको साझा उम्मेदवार रहेका रवि लामिछानेका कानुन व्यवासयी यज्ञमणि न्यौपानेलाई धुलो चटाउँदै एमाले निकटका कोइरालाले बाजी मार्नुभएको छ । पाँच सय मत गणना बाँकी छँदा नै महासचिवमा उम्मेदवार कोइरालाले न्यौपानेलाई २ हजार ३ सय मतले पछि पार्नुभएको छ ।
प्राप्त मतपरणिमा अनुसार कोइरालाले ४ हजार ६० मत प्राप्त गर्दा रास्वका नेता समेत रहेका न्यौपानेले १७०५ मत प्राप्त गर्नुभएको छ । एमालेले यसपटक बार एशोसिएसनमा चार प्रदेश उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित बहुमत सिटमा जित निकालेको छ । आजै साँझसम्ममा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुने बताइएको छ । बारको यो निर्वाचनमा सत्तारूढ कांग्रेस र एमाले एक ठाउँमा थिए भने बाँकी दलका कानुन व्यवसायी एक ठाउँमा रहेका थिए ।
प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १०:४३