चारदेशीय टी–२० आई सिरिजः नेपालले कुवेतलाई ६ विकेटले हरायो
२८ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । बिहिवार बिहान कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाउनुभयो। भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का हानेर ८१ रन बनाउनुभयो भने आशिफले ३८ बलमा २ चौका र ४ छक्का हानेर ५३ रन जोड्नुभयो ।
यस्तै दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का हानेर ३१ रन बनाउनुभयो । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहनुभयो । कुशल मल्ले ४ रन मात्रै जोड्न सक्नुभयो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १०:२७