६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

बारको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका प्रा डा मिश्र विजयी हुने निश्चित

२७ चैत, काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ । उहाँ सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) समर्थनको गठबन्धनको उम्मेदवा हुनुहुन्छ ।

नेपाल बार एशोसिएशन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्रले चार हजार आठ सय ९२ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गर्नुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार आजका लागि मतगणना यतिमै रोकेर भोलि बिहान ८ बजेबाट पुनःगणना गुरू गरिनेछ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो ।

बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय ९५ (८० प्रतिशत) मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियोे ।

वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता कोइराला रहनुभएको छ भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता न्यौपानेको रहनुभएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार २३:३६