त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल सम्पर्कबिहीन, राजीनामा अलपत्र
२६ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति केशरजंग बराल सम्पर्कबिहीन हुनुभएको बुझिएको छ । मंगलबार प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले उपकुलपति बराल सम्पर्कमा नरहनुभएको जानकारी दिनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत बरालको राजीनामा सनाखत नभएको र उहाँ सम्पर्कमा नरहेको उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा सनाखत नभएको र उहाँ सम्पर्कमा नरहनुभएकोले स्वीकृत नभएको स्थितिमा कुलपति एवं प्रधानमन्त्रीले बेवास्ता गरेको भन्न मिल्दैन नि हजुर !’
केही दिनअघि बरालले राजीनामा दिएको कुरा सञ्चार माध्ययमहरू मार्फत सार्वजनिक भएको थियो । यद्यपी त्यस समयसम्म प्रधानमन्त्रीको निजी सचिवालयले उपकुलपतिको राजीनामा नआएको र यसबारेमा जानकारी नभएको बताएको थियो ।
राजीनामाको सूचना मिडियामा सार्वजनिक भए लगत्तै उहाँ टेलिफोन सम्पर्कमा नरहनुभएको उहाँकै निकटहरूले समेत बताएका छन । कतिपयले भने उहाँ कास्कीमा रहेको पनि बताइरहेका छन । बराल आफैँले रोजेर नियुक्ति दिएका रेक्टर खड्ग केसी र रजिष्ट्रार केदार कार्कीका कारण समस्यामा पर्नु भएको त्रिवि स्रोतले जनाएको छ ।
उपकुलपति बरालले मेरिटोक्रेसीको नारामा माओवादीको सदस्यता हेरेरमात्र जिम्मेवारीको बाँडफाँडको निर्णय लिने, विभाग प्रमुख र क्याम्पस प्रमुखको नियुक्तिमा समेत उस्तै काम गरेपछि रेक्टर र रजिष्ट्रारले नै साथ नदिएको बुझिएको छ । त्यस प्रकरणबाट बिच्किएका रेक्टर र रजिष्ट्रारले उपकुलपतिले बोलाएको केही बैठक समेत बहिष्कार गरेका थिए । त्यसपछि उपकुलपति बरालले त्रिवि नै जान छाड्नुभएको थियो । विद्यार्थीले उपकुलपति खोजीरहेको समयमा उहाँले सीधै सञ्चारमाध्यमहरूमा राजीनामाको विषय प्रवाह गराउनुभएको थियो । यद्यपी मिडियामा भने कुलपति समेत रहनुभएको प्रधानमन्त्रीसँग मत बाझिएका कारण राजीनामा दिएको प्रचार भैरहेको छ ।
प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १८:४६