बक्यौता उठाउने प्रयास नै मलाई पदबाट हटाइनुको प्रमुख कारण बन्योः कुलमान घिसिङ
२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई पदबाट हटाउनुको मुख्य कारण विद्युतको बक्यौता उठाउनु रहेको बताउनुभएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताउनुभयो ।
घिसिङले आफूले १८ घण्टाको लोडसेडिङ हटाएको तर व्यापारीहरुले नतिरेको बक्यौता उठाउन खोज्दा सरकारले नै आफूलाई हटाएको बताउनुभयो । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । बक्यौता उठाउनु अपराध हो र ?’, घिसिङले प्रश्न गर्नुभएको छ ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १४:३६