प्रधानमन्त्री ओलीसँग प्रश्न गर्न नपाएको भन्दै कांग्रेस सांसदले गरे नारावाजी, संसद बैठक स्थगित
२२ पुस, काठमाडौँ । संसदमा सार्वजनिक वक्तव्य दिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गर्नुभएको थियो । उहाँले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिनुभयो ।
सोही बिषयमा कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिनुभयो । तर, रिजालले महराको प्रस्ताव अस्वीाकर गर्नुभयो । सांसदले सोध्न खोज्दा सोध्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो’ उहाँले भन्नुभयो ।
लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिनुभयो ।
कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गर्नुभयो । नारावाजी नरोकिएपछि बैठक १५ मिनेटलाई स्थगित भएको छ । त्यसअघि संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १० महिनामा गरेका कामबारे जानकारी गराएका थिए। उनले प्रतिपक्षी दललाई राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।
प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १६:०७