‘गर्ल्स रिराइटिङ डेस्टीनी’लाई अडियन्स च्वाइस अवार्ड
२१ चैत, काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा लव प्याकुरेलद्वारा निर्देशित वृत्तचित्र ‘गर्ल्स रिराइटिङ डेस्टीनी’ ले दर्शकहरूको मन जित्दै ‘अडियन्स च्वाइस अवार्ड’ जितेको छ । पाँच दिनसम्म चलेको महोत्सवमा १७ विधामा उत्कृष्ट फिल्महरूलाई पुरस्कृत गरिएको थियो ।
३४ मिनेट लामो ‘गर्ल्स रिराइटिङ डेस्टीनी’ वृत्तचित्रले नेपालका दुर्गम हिमाली क्षेत्रका महिलाहरूको साहस, सङ्घर्ष र सामाजिक परिवर्तनको यात्रालाई चित्रण गरेको छ। सिन्धुपाल्चोकको ५ हजार ८ सय ६३ मिटर अग्लो गंजालाचुली हिमालको आरोहणमा सहभागी २७ जना महिलाहरूको समूहलाई विश्व प्रसिद्ध सगरमाथा आरोही माया गुरुङले नेतृत्व गर्नुभएको छ ।
टोलीमा सरस्वती तामाङ, मनमाया तामाङ, सङ्गीता विश्वकर्मा, निमा याङ्छेन हेल्मो, अनिशा श्रेष्ठ, दिपा लामिछाने, अञ्जना आचार्यलगायतका महिलाहरू सहभागी हुनुहुन्थ्यो । उहाँ महिलाहरू विभिन्न जातीय, सामाजिक र आर्थिक पृष्ठभूमिबाट आउनुभएको हो ।
वृत्तचित्रले ग्रामीण र सीमान्तकृत समुदायबाट आएकाहरूले परम्परागत पितृसत्तात्मक समाजको बन्धन तोड्दै आरोहणमा आफ्नो नयाँ पहिचान खोजेको देखाइएको छ । यसले महिलाहरूको हिमाल चढ्ने साहसिक कार्यलाई मात्र नभई उनीहरूको आर्थिक, सामाजिक र व्यक्तिगत सशक्तीकरणको कथा पनि प्रस्तुत गरेको छ । निर्देशक प्याकुरेलका अनुसार यो अभियानमा ती महिलाहरूले आफ्नो पहिलेको परिचयलाई पुनर्लेखन र नयाँ भविष्य निर्माण गर्न प्रेरणा प्राप्त गरेका छन ।
वृत्तचित्रको सम्पादन लव प्याकुरेल आफैँले गर्नुभएको छ । रमेश धमला र देवु राजवंशीले खिचेको यस वृत्तचित्रका हाइ अल्टिच्युड क्यामेरापर्सन माया तामाङले सञ्चालन गर्नुभएको छ । भिएफएक्स मानबहादुर थापाले गर्नुभएको छ भने कलर ग्रेडिङ अच्युत बजगाईँले गर्नुभएको छ ।
निफमा राष्ट्रिय फिल्म प्रतिस्पर्धामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म घोषित भयो भने ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री बन्यो । फिचर फिल्मतर्फ, दिनेश राउतले ‘पूजार सार्की’बाट उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभयो, अञ्जना बराइलीले ‘पूजार सार्की’ बाटै उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो नाममा लेखाउनुभयो । ‘आँखा’ का आरके मेहता उत्कृष्ट अभिनेता घोषित हुनुभयो भने ‘पूजार सार्की’ का लागि राजेश श्रेष्ठले उत्कृष्ट छायाङ्कनको अवार्ड प्राप्त गर्नुभयो । ‘आँखा’ कै जौन योञ्जनले उत्कृष्ट पटकथा लेखकको अवार्ड जित्नुभयो । छोटो फिल्म विधामा ‘अ बिट्नेस’ का निशान खत्री उत्कृष्ट निर्देशक घोषित हुनुभयो ।
अन्तर्राष्ट्रिय फिल्मतर्फ भारतीय फिल्म ‘रुक्मिणी’ले डन क्वीजोटे अवार्ड जित्यो भने अर्जेन्टिना फिल्म ‘द अविस’ले मञ्जुश्री अवार्ड (एआई फिल्मतर्फ) पाउन सफल भयो । बेल्जियमको ‘मेल्टिङ स्नो’ ले माउन्ट एभरेस्ट अवार्ड र स्पेनी फिल्म ‘लुसिया जी रोमेरो’ ले बागमती अवार्ड जित्यो ।
निफमा सहभागी ४० देशका ८७ फिल्म प्रदर्शन गरिएको थियो । समापन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विजेताहरूलाई पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ०६:५०