ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खुल्यो, धितोपत्र बोर्डले जारी गर्यो निर्देशिका
२० चैत, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुलेको हो । योसँगै अब सेयर ब्रोकर कम्पनीहरु पनि मर्ज भएर एकीकृत कारोबार गर्न सक्नेछन् ।
‘धितोपत्र दलाल वा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको छ,’ निर्देशिकामा उल्लेख छ ।
बोर्डले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरुलाइ तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । चुक्ता पुँजी कायम गर्न निर्देशन दिँदै बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्नेहरूको हकमा ६० करोड र स्टक डिलरको हकमा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो । उक्त निर्देशनको समय सीमा आउने असार मसान्तमा सकिँदै छ । बोर्डले निर्देशन जारी गरेसँगै उनीहरूलाई मर्जरमा जाने बाटो खुलेको छ ।
प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १३:४०