२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

चैत २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया बैंक

१७ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले चैत २५ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरूले छिटोमा चैत २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो समयमा पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म आवेदन दिने समय लम्बिने छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १०:०२