एडिलेडमा अजी ड्रुकको आयोजनामा भुटानी मुलका नेपालीहरुको भलिवल हुदै
एडिलेड । साउथ अस्ट्रेलियामा रहेको अजी ड्रुक भलिबल क्लबको आयोजनमा “अष्ट्रेलियन भूटानी प्रथम क्याम्प स्तरीय एकदिने पुरुष र महिला भलिबल प्रतियोगिता २०२५” हुने भएको छ । प्रतियोगिता २०२५ मार्च २९ तारिख, शनिबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म टिन्डेल क्रिश्चियन स्कूल, सल्सवेरीमा आयोजना हुने भएको छ ।
भलिबल प्रतियोगितामार्फत युवाहरूलाई सामाजिक गतिविधिमा संलग्न गराउनुका साथै नेपालका शरणार्थी क्याम्पका यादहरूलाई स्मरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण पौडेलले बताउनु भयो । अध्यक्ष पौडेलले क्लवको उद्देश्य खेलकुदको माध्यमबाट एकता र उत्सवको माहोल सिर्जना गर्नु रहेको बताउनु भयो ।
प्रतियोगितामा सहभागी तथा दर्शकहरूले रोमाञ्चक भलिबल खेलका साथै सांस्कृतिक नृत्यहरू र नेपाली स्वादिष्ट परिकारहरूको स्वाद चाख्न पाउने आयोजक संस्थाले जनाएको छ। साथै, कोष संकलनका लागि आयोजना गरिने राफल ड्रमा आकर्षक पुरस्कारहरू राखिएका छन्, जसमा २४ क्यारेट सुनको पोते, देउराली रेष्टुरेन्टको $५० मूल्यको खाना भौचर, र $३५ को उपहार कार्ड समावेश छन्।
अजी ड्रुक भलिबल क्लब ले सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस विशेष अवसरमा सहभागी भई एकताको सन्देश फैलाउन निमन्त्रणा गरेको जनाएको छ । अध्यक्ष पौडेलले प्रतियोगिता केवल भलिबल खेल मात्र नभई समुदायबीचको प्रेम,गर्व र खुसीको उत्सवसमेत रहने विश्वास व्यक्त गर्नु भयो ।
खेलकुदमार्फत एकता भन्ने नाराका साथ आयोजना गरिने उक्त प्रतियोगितालाई तेज ग्रुपले मुख्य प्रायोजन गरेको छ।
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १४:२८