१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

राष्ट्रियसभाको बैठक अवरुद्ध, बैठक एक घण्टा स्थगित

१५ चैत, काठमाडौँ । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गर्नुभएको हो ।

त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयका सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र सम्बन्धितमन्त्री संसद्प्रति उत्तरदायी हुने भनिएको छ, त्यसैले उक्त सम्बन्धमा हामीलाई जवाफ चाहिन्छ ।” कुलमानलाई हटाउने विषय सुशासनसँग जोडिएको दाबी गर्दै उहाँले उक्त विषयले नयाँ तरङ्ग सिर्जना गरेको बताउनुभयो ।

उहाँले अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेको संशोधन प्रस्तावको सम्बोधन हुन नसकेको समेत उल्लेख गर्नुभयो । “उपप्रधान तथा अर्थमन्त्रीले अध्यादेशमा भएका कमिकमजोरी र अरु ऐनसँग बाँझिएका विषयमा छलफल गर्ने भन्नुभए पनि त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १४:०४