राजेश राई जित्दा एमाले वा केपी ओली हार्छ भन्ने भाष्य कोरल्ने कारखाना कहाँ छ ?
हृदयदेखिको आभार !
आदरणीय अग्रज !
प्रिय साथीहरू !
यहाँहरूलाई थाहा छ, ‘श्रमजीवी पत्रकारहरूको गौरवमय संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’ महाधिवेशन व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न गराउनका लागि अहोरात्र खट्नुहुने व्यवस्थापन समितिका संयोजक तथा सचिव प्रिय साथी विक्रम लुइँटेल, प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरी सहित सबै साथीहरु, प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापा सहित सबै साथीहरु प्रति गहिरो सम्मान !
कोशी प्रदेश मेरो पनि गृह प्रदेश । मलाई विश्वास छ, ‘यहाँहरूको विराटनगर बसाइ सुखद रह्यो ।’ अनुरोध छ, ‘बसाइको क्रममा बटुल्नुभएका मिठा सम्झना मात्रै बोकेर जानुहोला, केही समस्या, जटिलता र असहजता भएका भए उतै सप्तकोशीमा बगाएर गइदिनुहोस् है ।’
प्रथमतः पार्टी नेतृत्वको निर्देशनअनुसार प्रेस चौतारी नेपालको नेतृत्वमा चुनिनुभएका साथीहरुको सपथ हुँदैछ । अध्यक्ष प्रिय साथी गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष कृपा भण्डारी, महासचिव हिरामान लामा, उपमहासचिव हरिवल्लभ नेपाल, सचिव विक्रम लुइँटेल, प्रदीप आचार्य, विष्णु तारुके, नरेश भण्डारीसहित सबै केन्द्रीय नेतृत्व, आयोगका अध्यक्ष र सदस्यहरूलाई हार्दिक बधाई ! सफल कार्यकालको अनेकन् शुभकामना । मेरो प्रतिबद्धता छ, साधारण सदस्यका रूपमा यहाँहरूलाई सफल बनाउन अधिकतम योगदान गर्नेछु ।
प्रिय साथीहरू,
मलाई लागेको थियो, ‘अब मैले भन्नुपर्ने केही छैन ।’
मैले भन्नुपर्ने जति सम्मानित बन्द सत्र हलमा भनेर आएको छु । हलमा मैले जे भनेँ, मेरो मान्यता त्यही हो । यस बीचमा आएका सयौं फोन, म्यासेजहरूको रिप्लाईबाहेक मैले केही भन्नुपर्छ भन्ने लागेकै थिएन । तर, अनायास यस्तो बाध्यता आइलाग्यो, मैले फेरि पनि केही भन्नुपर्ने भयो । तर, सवाल–जवाफ होइन है । यद्यपि, सार्वजनिक उत्तरका निम्ति फेरि पनि माफी चाहन्छु ।
संगठनको आन्तरिक जीवन हो । त्यही भएर मलाई लागेको थियो, ‘सप्तकोशी तरेर बागमती आएपछि सबै साथीले कोशीको कुरा सप्तकोशीतिर सबै बगाएर फर्किनेछौं ।’ तर, सप्तकोशी पार हुँदानहुँदै उचाइमा पु-याइएका मान्छेहरूकै कारण स्पष्ट पार्नुपर्ने बाध्यता आयो । मलाई लागेको थियो, ‘मेरो कारण सर्वसम्मत हुनु भएका प्रिय साथीले ‘प्रिय साथी धन्यवाद’ भन्नुहोला । हामीले निर्माण गरेको राजनीतिक संस्कार अनुसार भन्नु पर्ने धन्यवाद नै हो । तर हेर्नुहोस् त के भनिएको छ ?
यो असजिलोका लागि फेरि पनि क्षमा चाहन्छु । यो लेख्दै गर्दा मेरो अनुरोध छ, ‘यो मेरो स्पष्टीकरण अन्तिम हो । पार्टी, संगठन र आन्दोलनको प्रतिष्ठामा असर गर्ने गरी कसैले टिप्पणी नगरिदिनुहोला ।’
मेरो उम्मेदवारीको प्रश्न
प्रेस चौतारी नेपालको सांगठनिक जीवनको हिसाबले मैले मेरो जिन्दगीको दुई दशकभन्दा बढी (२२ वर्ष) खर्चिएँ । प्रेस चौतारी नेपालको धनकुटा सचिव, अध्यक्ष, तत्कालीन पूर्वाञ्चल सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा थिएँ । संगठनका सबै तह र पदका जिम्मेवारी सम्हालेर अध्यक्षको दाबेदारी गर्ने तहमा पुगेको थिएँ ।
अब १० औं राष्ट्रिय महाधिवेशनमा आइपुग्दा मसँग जम्मा दुईवटा बाटा अथवा रोजाइ थिए । पहिलो— अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने । दोस्रो, संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने । स्वाभाविक रूपमा मेरो पहिलो रोजाइ अध्यक्षको जिम्मेवारी लिएर संगठनको एक पटक नेतृत्व गर्ने थियो । संस्थापक पुस्ताले छोड्दै गर्दा स्वाभाविक रुपमा हामी ४ जना दाबेदार थियौं । प्रिय उपाध्यक्ष कमरेडहरू गणेश पाण्डे, सविन प्रियासन, देविका घर्तीमगर, म, महासचिव हिरामान लामा ।

चार उपाध्यक्षमध्ये उपाध्यक्ष गणेश पाण्डे कमरेडले (१८ फागुन २०८१) मा पार्टी प्रचार तथा प्रकाशन विभागको सचिवको जिम्मेवारी पाउनुभयो । त्यसअघि १६ फागुन २०८१ मा पार्टीका श्रद्धेय अध्यक्षसहित हाम्रो मोर्चाका इन्चार्ज, संयोजक र अध्यक्षसँग स्पष्ट रूपमा निर्देशित भएको तथ्यप्रति पनि हामी सबै जानकार छौं । धेरै भन्दिनँ । द्वन्द्वात्मक भौतिकवादका प्रवर्ग छन्— अनिवार्यता र आकस्मिकता । जस्तो कि, बच्चा जन्मिएपछि हुर्किनु, बढ्नु र परिपक्व हुनु अनिवार्यता हो । तर, दुर्घटनामा परेर बीचमै मर्नु आकस्मिकता । माक्र्सवादीहरूले आकस्मिकतालाई नियन्त्रण गरेर अनिवार्यतामा परिणत गर्नुपर्छ । हो, मैले आकस्मिकतालाई नियन्त्रण गर्न सकिँन । मेरो कमजोरी त्यही रह्यो ।
दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तीमगर कमरेड नेपाल पत्रकार महासंघको मोर्चामा जानुभएको छ । अब रह्यौं, महासचिव हिरामान लामा कमरेड र म । महासचिव कमरेडले ‘तपाईं अघि बढ्दा म अटाउन सक्छु’ भन्नुभएको छ । यी सबै अवस्थामा अध्यक्षमा मेरो दाबी र जिम्मेवारी जायज र न्यायपूर्ण थियो । मेरो गहिरो विश्वास थियो, पार्टी नेतृत्वले न्यायको तराजु उचाल्नेछ । मलाई लागेको थियो, ‘केन्द्रीयता लागू गर्दा नेतृत्वले र जनवाद प्रयोग गर्दा प्रतिनिधिहरूले विवेक र न्यायपूर्ण निर्णय गर्नुहुनेछ ।’ तर बिडम्बना मेरो लागि दुबै बन्द गरियो ।
किन पछि हटेँ ?
हो, मैले त्यही आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेँ । सर्वसम्मति नजुटे मत विभाजनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनेछ भन्ने मेरो बलियो विश्वास थियो । मेरो उम्मेदवारीको निरूपण लोकतान्त्रिक विधिमार्फत हुन्छ भन्ने लागेको थियो । मैले प्रतिनिधिहरूलाई वाचा गरेको थिएँ, ‘कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता हुने छैन ।’
हो, पार्टी, संगठन र मूल नेतृत्वको पक्ष वा विपक्षको भाष्य निर्माण गरेर मलाई माया गर्ने अग्रज र साथीहरूमाथि अकल्पनीय मात्रै होइन, कतिपय सन्दर्भमा अमानवीय व्यवाहार प्रर्दशन भयो । अग्रज र प्रतिनिधि साथीहरूका कुरा सुन्दा मनै अमिलो भयो । मनमा यति धेरै गाँठा परे, चोटका कति ज्वारभाटा उठे, यहाँ भनिसाध्य छैन । चोट र घाउको हिसाब गर्न समर्थ त्यस्तो कुनै गणित हुँदैन ।
आदरणीय अग्रज र प्रिय साथीहरू, मलाई समर्थन गर्दा तपाईंहरूले जुन अपमान बेहोर्नुभयो, मलाई माया गर्नुको जुन मूल्य चुकाउनुभयो, त्यसका निम्ति शिर झुकाएर माफी माग्छु । उहाँहरूका ती व्यवहारबारे मैले धेरै भन्नु छैन, कुनै दिन फर्केर उहाँहरू आफैंले आत्मसमीक्षा गर्नुहोला ।
मैले उम्मेदवारी घोषणा र निर्वाचनको माग गरिरहँदा धेरै साथीहरूको प्रश्न थियो, ‘अन्तिमसम्म खुट्टा टेक्न सक्छौं ?’
मैले भनेको थिएँ, ‘पार्टीको सिद्धान्त, मान्यता, परम्परा, प्रतिबद्धता, अभ्यास सबै सबैका जगमा उभिएको हुँ म । खुट्टा नटेक्नुपर्ने कारण नै छैन ।’
तर, यस्तो अवस्था आइलाग्यो, कि प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता कायमको पक्षमा उभिनुभएका साथीहरूको भावनाविपरीत मैले मञ्च उक्लिनैपर्ने भयो । त्यो पनि साथीहरूलाई रुवाउने गरी ।
मैले उम्मेदवारीको मनोनयन फारम मागिरहँदा नेताहरूले भन्नुभयो, ‘निर्वाचन कुनै हालतमा हुन दिन्नौं ।’ उहाँहरूको प्रश्न थियो, ‘निर्वाचन मागेर संगठन,पार्टीबाट निकालिने कि मञ्चमा उभिएर फिर्ता भएको जानकारी दिने ?’
उहाँहरूले त कति सजिलो गरी सोधिदिनुभयो, तर मेरा लागि यो प्रश्न मुटुलाई पहाडले किचे जस्तो भयो । कतै आकाश झरे जस्तो, धर्ती हल्लिए जस्तो पनि । म पार्टी, संगठन र आन्दोलनमा लागेको कुनै एक थान पदका लागि होइन, थिएन । मैले सम्झें, मेरो उर्वर काल, मेरो प्रिय संगठनको लोगो, प्रिय पार्टीकोे प्रिय झन्डा, मलाई माया गर्ने अग्रज र साथीहरूका अनुहार । उहाँहरूको बेहिसाब माया, हार्दिक समर्थन र न्यानो काख ।
मेरो हृदयले भन्यो, ‘यति धेरै माया गर्ने साथीहरूको न्यानो माया छोडाएर टाढा भगाउनेहरूलाई सहयोग पुग्ने गरी निर्णय लिन मिल्दैन । हुन्न ।’ मेरो विवेकले भन्यो, ‘इतिहासको रथ कहिल्यै रोकिएर बस्दैन, घुमिरहन्छ ।’
हो, मैले हृदयको आवाज सुनेँ । दिमागको निर्देशन मानेँ । र, उक्लिएँ मञ्चमा । मुटुमा सय फन्को गाँठो पारेर मञ्चबाट प्रतिनिधि साथीहरूलाई धरधरी रुवाएर भनेँ, ‘मलाई माफ गर्नुहोला, मनोनयन फारम नै नपाएपछि हटेँ है ।’ मनोनयन फारम नै नपाएपछि उम्मेदवारी फिर्ता लिएको भन्न मिल्दैन । पछि हटेको हो । प्रिय कवि तुलसी दिवसको कविता सम्झिएँ :
उक्लँदाउक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ
मेरो भन्नु
तपाईंहरूलाई थाहा छ, मैले पछि हट्दै गर्दा मेरो अडान, मान्यता अथवा असहमति नेतृत्वसामु दर्ज गराएको छु । रेकर्ड गराएको छु । ती सबै मैले लिपिबद्ध गरेर पार्टी नेतृत्वलाई बुझाउने नै छु । मलाई विश्वास छ, त्यसलाई नेतृत्वले गम्भीरतापूर्वक लिनेछ । यदि त्यसो भएन भने यो समयलाई, समाजलाई र इतिहासको रेकर्डका लागि पनि मैले त्यो दिनु नै छ । मैले सोधेका प्रश्न वा दर्ज गराएका मेरा मान्यता वा असहमतिलाई यहाँ सूचीकृत गर्दछु :
१. पार्टीलाई जीवन दिने कसम खाइरहँदा मलाई लागेको थियो, सबैभन्दा अग्लो विश्वास हो, पार्टीमा लाग्नु भनेको न्यायको झन्डा बोक्नु हो, समानताको झन्डामुनि गोलबन्द हुनु हो । तर, यस्तो भाष्य निर्माण गरियो कि राजेश राईले जित्दा पार्टी हार्छ, अध्यक्ष हार्छ । पार्टीलाई जीवन दिन्छु भनेर हिँडेको मान्छे पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्दा पार्टी वा अध्यक्ष हार्छ भन्ने भाष्य कहाँबाट निर्माण भयो ? यस्तो भाष्यको निर्माता वा यस्तो भाष्य कोरल्ने कारखाना कहाँ छ ?
२. प्रेस चौतारी नेपाल नेकपा (एमाले) को पेसागत जनसंगठन हो । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’ जननेता मदन भण्डारीले त्यसअतिरिक्त प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने सन्दर्भमा थप व्याख्या गर्नुभएको छ । हामीले संगठन निर्माणलाई यही आलोकमा गर्नुपर्छ । जबजको व्यावहारिक प्रयोग गर्दा पार्टी कमजोर होइन, बलियो हुन्छ । सबै मनोविज्ञानहरूको सम्बोधन पनि हुन्छ । तर, यसको व्यावहारिक प्रयोग किन बन्देज गरियो ?
३. हाम्रो पार्टीको नारा छ, ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं ।’ दुई साताका बीचमा पटक पटक निर्णयहरू बदलिनु, एउटा सामान्य कार्यकर्तालाई अपमानित हुने गरी साङ्गठनिक निर्णय हुनु त्यही नाराअनुकूल हो र ?
प्रिय साथीहरू,
मलाई थाहा छ, ‘पक्ष र विपक्षको भाष्य निर्माण भयो, सरकारी र गैरसरकारीको नारा लगाइयो । दण्ड र सजायको फरमान जारी भयो ।’ तर, ती सबैलाई बेवास्ता गर्दै तपाईंहरू मेरो पक्षमा सतिसाल जस्तै उभिनुभयो । मेरो शिरमा हात राखिदिनुभयो । मलाई अँगालो हालेर बेस्सरी रुनुभयो । मेरो हात दह्रो गरी समाएर ‘हामी छौं नि’ भन्नुभयो । पहाडजस्तो प्रतिबद्धता जनाएर, मुठी उचालेर लाल सलाम गर्नुभयो । साथीहरू मलाई थाहा छ नि, नारा–जुलुस पो आदेशबाट होलान्, तर आँशु ? यो त हृदयको आवाज हो । हल रोएको बेला मैले पनि मन थाम्न सकिनँ ।
मैले प्रतिस्पर्धाको अवसर गर्न नपाउँदा केही क्षण लागेको थियो, ‘मैले २२ वर्ष गरेको योगदान सप्तकोशीमा बग्छ कि कतै ?’ तर, जब मञ्चबाट ओर्लिएँ, त्यहाँ सन्नाटा थियो । सबै सबै साथीका आँखा रसाएका थिए । साथीहरूले मेरो बाटो छेकेर डाँको छोडेर रुनुभयो । न कुनै व्यक्तिगत घनिष्ठता, न कुनै व्यक्तिगत आश्वासन र प्रतिबद्धता । अग्रजदेखि अनुजहरू भक्कानिनुभयो । त्यो बेला मलाई लाग्यो, ‘२२ वर्षे मेरो यात्रा सफल रहेछ ।’
फेरि पनि भन्छु, तपार्इंहरूको यो माया मेरो शक्तिको अजस्र स्रोत हो । तपाईंहरूको शुभेच्छा मेरो अमूल्य सम्पति हो । तपाईंहरूको सद्भाव मेरो साहस हो । तपाईंहरूको सम्मान मेरो असाधारण प्राप्ति हो । तपाईंहरूका कारण म धन्य भएको छु ।
साथीहरूले सोध्नुभएको छ, ‘अब तेरो यात्रा कता ?’ मैले हलमा नै भनेको छु, अबका केही थान वर्ष औपचारिक फुलीवाला पदमा म बस्ने छैन ।’ मैले हलमा पनि भनेको छु, पद भनेको पोखरेली प्रिय कवि तीर्थ श्रेष्ठले भनेजस्तै ‘हिउँको नाम’ हो ।
हामीले लेखेर आएका छौं
हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
बाँकी रहने छैनन् हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू
हो, पद भनेको हिउँमा लेखिएका नामहरू हुन् । आजदेखि समाचारकक्षमा फर्किएको छु । त्यही हिसाबले आन्दोलनमा अधिकतम योगदान गर्नेछु । नाफाघाटाको क्यालकुलेटर थिचेर होइन, विवेकको तराजु उठाएर चुपचाप, बेहिसाब सहयोग गर्नुहुने आदरणीय अग्रज, अनुज र मित्रहरूसँग त्यही हिसाबले जोडिनेछु ।
मैले सामाजिक सञ्जालमा हेरेँ । भनिएको रहेछ, पद नपाएपछि आँसुको गीत गाइयो । आँसु मैले होइन, हलका ९० प्रतिशत साथीहरूले बगाउनुभयो । फेरि भन्छु, आँसु कसैको फरमान र आज्ञामा होइन, केवल हृदयको आदेशले आउने हो । आँसुमाथिको प्रश्न वा आँसुको अपमान सबैभन्दा निकृष्ट कर्म हो ।
फेरि कसैले भन्लान्, पद नपाएर म समस्यामा छु । मैले अस्ति नै भनेको हुँ, हाम्रा लागि अपमान, अन्याय, विभेद, तिरस्कार कुनै नयाँ विषय नै होइन । हामी त यहाँसम्म यही तिरस्कार र अपमानको लामो शृंखलाको सप्तकोशी पौडेर यहाँसम्म आएका हौं । अन्याय र विभेदका अनगिन्ती सगरमाथा चढेर यहाँसम्म आएका हौं । इतिहासमा आँसुको कोशी तरेर आएका मान्छे हौं । त्यही भएर त वर्ग संघर्षको झन्डा उठायौं ।
सहन बानी पो लागेको हो त । तर समयले सुनोस्, इतिहासले बुझोस्, यो धर्र्तीले अभिलेख राखोस्— मन त हाम्रो पनि हो, दुख्छ नि । हृदय त हाम्रो पनि छ, पोल्छ नि । अन्यायले हाम्रो पनि पोल्छ छाती, तिरस्कारले दुख्छ मुटु । हाम्रो पनि छातीमा बल्छ आगो । हाम्रा पनि आँखा दहझैं भरिन्छन् र बग्छ आँसु ।
समय आएपछि सोध्न तयार पारिएका हजार होइन, लाख प्रश्न छन् ।
कवि तथा गीतकार आहुतिले सोधेजस्तो कुनै दिन हामी पनि सोधौंला :
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ
हजारौँ वर्ष हिँडेर तिम्लाई सोध्न आइपुगेँ
ए मन भएको मान्छे
मनलाई सञ्चै छ कि बिरामी
ए ज्ञान भएको मान्छे
ज्ञानलाई सञ्चै छ कि बिरामी
हार्दिक अभिवादन !
(प्रेस चाैतारी नेता राजेश राईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको भावना यहाँ साभार गरिएको हो । सम्पादक)
प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार ११:४२