१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025

हिंसा भड्काउने प्रधानमन्त्रीको अभिव्यक्ति

१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घको भेलामा दिनुभएको अभिव्यक्तिले देशको राजनीतिक वातावरणलाई थप उत्तेजित बनाउने देखिएको छ । उहाँले नेकपा (एमाले)को जनवर्गीय संगठन युवा सङ्घलाई ‘बाघले झम्टिए झैँ झम्टिन’ र ‘प्रतिगामी शक्तिसँग सशक्त प्रतिवाद गर्न’ आह्वान गर्नुले देशमा मुठभेडको अवस्था सिर्जना हुने जोखिम बढेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई समेत चुनौती दिएको छ। यस्तो अभिव्यक्तिले युवाहरूलाई हिंसात्मक गतिविधिमा संलग्न हुन प्रोत्साहित गर्ने र देशमा रहेको शान्ति र स्थिरतालाई खतरामा पार्नसक्ने देखिन्छ ।

देशमा राजतन्त्रवादी र गणतन्त्रवादीबीचको तनाव बढिरहेको बेला प्रधानमन्त्रीको यस्तो उत्तेजक अभिव्यक्तिले स्थिति झन् जटिल बनाएको छ । चैत १५ अर्थात आजबाट दुबै पक्ष सडकमा आमनेसामने भिड्ने अवस्थामा छन् । यद्यपी प्रशासनले प्रदर्शनका लागि फरक फरक स्थान तोकिदिएका कारण तत्काल अप्रिय घटनाको सम्भावना देखिदैन तर यस्तो संवेदनशील समयमा प्रधानमन्त्रीले संयम अपनाउनुपर्नेमा हिंसालाई बढावा दिने खालका अभिव्यक्ति दिनु निन्दनीय छ ।

dainiki.com

प्रधानमन्त्री ओलीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र गतिविधिका कारण सरकार र एमालेले समेत जनविश्वास गुमाउँदै गएको छ। उहाँले आफ्नो पार्टीको युवा सङ्गठनलाई उत्तेजित बनाएर सडकमा हिंसा मच्चाउन प्रोत्साहित गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ। कसैले संविधान र कानुन विपरित काम गर्छन भने सरकार प्रमुखले सुरक्षा संयन्त्र परिचालन गरी कानुनी बाटोबाटै समाधान खोज्नुपर्छ ।

प्रधानमन्त्रीले सबै राजनीतिक दल र नागरिक समाजसँग मिलेर देशमा शान्तिपूर्ण वातावरण कायम गर्न पहल गर्नुपर्छ । प्रधानमन्त्रीले आफ्नो राजनीतिक स्वार्थका लागि युवाहरूलाई दुरूपयोग गर्नुहुँदैन। राजावादीहरूले प्रदर्शन गर्दैमा राजतन्त्र नै फर्किन लागिसकेको जसरी गणतन्त्रवादीहरू तर्सिनु राम्रो हुन्न । गणतान्त्रिक व्यवस्था संरक्षणका लागि प्रदर्शनको प्रतिकार हैन गणतन्त्रवादीहरूले नागरिकमा व्याप्त बनेको निराशा कम गराउन काम गर्नुपर्छ । ठूला भनिएका राजनीतिक दलहरू लोकतान्त्रिक पद्धतीमा चल्नुपर्छ ।

राजतन्त्रको भन्दा तीन गुणाबढी निरंकुश चरित्र र व्यवहार प्रदर्शन गरेर नागरिकमा दिनदिनै निराशा बढाउने काम राजनीतिक दल र तीनको नेतृत्वले रोक्नुपर्छ । अहिले गणतन्त्रवादी दलहरूमा र सरकारको नेतृत्वकर्ताहरूमा नागरिकको निराशासँग कुनै चासो नराख्ने बरू राजाको भन्दा बढी चाकरी खोज्ने प्रवृति झाँगिदै गएको छ । जुन नागरिकले अलिकति पनि मन पारएका छैनन् । यो प्रवृत्तिलाई निरुत्साहित गर्दै लोकतान्त्रिक मूल्यमान्यता र नागरिकको भावनाको सम्मान गर्नु आवश्यक छ।

देशका दुई ठूदा दल मिलेर बनेको झण्डै दुईतिहाइ मत नजिकको सरकार किन प्रभावकारी हुन सकिरहेको छैन ? दुई दशकअघि नागरिकहरूले रगत बगाएर ल्याएको गणतन्त्र राजावादीहरूको सामान्य प्रदर्शन र होहल्लाले किन हल्लियो ? यतातर्फ गम्भीर भएर सोचौँ तर हिंसा भड्काउने अभिवयक्ति र गतिबिधि कसैले पनि नगरौँ ।

प्रधानमन्त्रीको अभिव्यक्ति तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १०:४४