१६ चैत्र २०८१, शनिबार | Sun Mar 30 2025

सुनसरीको सेन्टर प्लाजामा आगलागी हुँदा फसेका ११ जनाको उद्वार 

१३ चैत, काठमाडौँ । सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा चैत्र १३ गते भएको आगलागीमा फसेका ११ जनाको उद्वार गरिएको छ । सो आगलागी भएपश्चात खटिएको सशस्त्र प्रहरीले ९ जनाको र संयुक्त सुरक्षा फौजले २ जनाको उद्धार गरेको हो ।

सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाको कमाण्डमा १ सय ५ जनाको सुरक्षा फौज विपद् व्यवस्थापन सामाग्रीसहित खटिएको थियो । आगलागीमा फसेका ९ जनाको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधि प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

तस्बिरः रासस

आगलागी नियन्त्रण तथा उद्वार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ९ वटा दमकलको सहयोगमा नियन्त्रणमा लिने कार्य भईरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार १४:१०