३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

३ फागुन, काठमाडौँ । देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१० शिब चोकमा हाल नम्बर नखुलेको हाईस गाडीले ग.११ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकल ना.१ क ३९१० नम्बरको लहरी टेलरमा ठक्कर खाएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथे बस्ने पर्बत लेखफाँट–५ का २३ वर्षीय उमेश पौडेलको अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । टेलर र टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनुषाको शहिदनगर नगरपालिका–९ गोठकोयलपुरमा ज.५ प २२७४ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पैदलयात्री आशिषबती देबीलाई बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएकीले जनकपुर अञ्चल अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मोरङको कटहरी गाउँपालिका–४ स्थित सडकमा को.१४ प ४४५६ नम्बरको मोटरासइकल बुधबार अनियन्त्रित भई खोलामा खस्न गई भएको दुर्घटनामा पानीमा डुबेर बेपत्ता भएका मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–२ झोराहाट बस्ने २१ वर्षीय प्रेमकुमार सरदारको खोजी गर्ने क्रममा शव फेला परेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १४:१४