३ चैत्र २०८१, आईतवार | Sun Mar 16 2025

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा मागभन्दा बढी आवेदन, सेयर पर्न भाग्यकै भर !

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आज अन्तिम दिनसम्ममा १९ लाख ८५ हजार ६६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको हो । यो मागभन्दा १६.०२ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर पर्न भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।

कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु १०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।

कम्पनीको आईपीओमा आवेदन दिएकामामध्ये १ लाख ४७ हजार ६०० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् । भने १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १८:०६