२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाहीमा

१९ पुस, काठमाडाैँ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् ।

यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उद्योग बारालाई कारवाही गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको विभागले जनाएको छ ।

कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको बताउँदै गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने महानिर्देशक पुडासैनीको भनाइ छ । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ ।

प्रकाशित मिति : 13:30