प्रधानमन्त्री ओलीको संसदमा हुने भनिएको सम्बोधन स्थगित
१९ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । यसअघि सम्बोधन गर्ने तयारी भएर पनि नेपाल स्काउटको कार्यक्रममा सहभागी हुनका लागि स्थगित गरिएको सम्बोधनको कार्यसूची अाज संसद सचिवालयले सार्वजनिक गरेको थियो त्यो पनि फेरि स्थगित भएको सचिवालयले जनाएको छ ।
बिहान १२ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको थियो । उनले नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुधबार बेलुका नै अाज अाफूले सम्बोधन गर्ने बताइसेका थिए । सम्बोधनमा प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र केही दिनअघि संसदमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो ।
विपक्षी माथि खरो उत्रने बानी भएका अोलीले अाज पनि विपक्षीलाई ट्वाँ पार्ने गरी जवाफ दिने अपेक्षा गरिएको थियो । सम्बोधनमा प्रधानमन्त्री ओलीले वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको विषयमा पनि बोल्ने तयारी समेत थियो ।
प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार १२:०८