प्रधानमन्त्रीको ‘आराध्या’ गरिएको पुस्तक ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आराध्या’ गरिएको पुस्तक लोकार्पण गरिएको छ । एमाले प्रचार विभागका सचिव गणेश पाण्डेले सम्पादन गरेको ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको सोमबार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण भएको हो । प्रधानमन्त्री भन्दा केही समय अघि नै राष्ट्रियसभागृह पुग्नुभएको पूर्व राष्ट्रपति भण्डारीले केहीबेर कुर्नुभएको थियो । प्रधानमन्त्री आइपुगेपछि मात्र कार्यक्रम सुरू गरिएको थियो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, सँगै काम गरेका कर्मचारी, राजनीतिज्ञ, अर्थविद, बैंकका प्रमुख कार्यकारी अधिकृत, चिकित्सक लगायत सामाजिक व्यक्तित्वहरुका लेख–रचना समावेश गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएको ओलीले गर्नुभएको संघर्षका अनेक रूपको फरक फरक कोण र फरक फरक व्यक्तिबाट व्याख्या गराइएको छ । ओलीले मुलुकको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको सम्पादक पाण्डेले बताउनुभएको छ ।
उहाँले कति व्यक्तिसँग अन्तरवार्ता गरेर उहाँहरूको नाममा लेख तयार गरिएको र कतिपयले आफैँले ओलीबारे लेख लेखेको बताउनुभयो । पाण्डेले पुस्तक लोकार्पणको पूर्व सन्ध्यामा हिजैमात्र एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवको जिम्मेवारी पाउनुभएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त समारोहमा एमाले महासचिव शंकर पोखरेल सहित केन्द्रीय तहका नेताहरू पुस्तकमा ओलीको बारेमा फरक फरक कोणले व्याख्याको अवसर प्राप्त गर्नुभएको व्यक्तिहरूको बाक्लै उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १४:४०