राप्रपाले एक साताभित्र निर्वाचन क्षेत्र छान्न केन्द्रीय सदस्यलाई दियाे निर्देशन
१८ पुस, काठमाडौँ । राप्रपाले संगठन सुदृढीकरण अभियानलाई ध्यान दिई केन्द्रीय कार्य समितिका प्रत्येक सदस्यलाई अनिवार्य रुपमा प्रदेश सभा वा संघीय संसदमा आफ्नो निर्वाचन क्षेत्र छान्न निर्देशन दिएको छ । छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ता भित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिन निर्देशन दिँदै निर्वाचन क्षेत्र छनौट नगरेका सदस्यलाई भविष्यमा संघीय र प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाउने निर्णय गरेको छ ।
यस्तै राप्रपाले फागुन ७ गतेदेखि सञ्चालन हुने हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक छलफल समेत गरेको छ । जसअनुसार फाल्गुन ७ गते काठमाडौं उपत्यकामा संघीय सरकार र प्रदेश राजधानीमा प्रदेश सरकार तथा जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमा हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका मागहरु सहितको ज्ञापनपत्र दिने तय भएको छ ।
सो माग पुरा नभए चैत्र १ गते पछि संघर्षका कार्यक्रमहरु घोषणा गर्ने राप्रपाले जनाएको छ । यस्तै माघको दोश्रो हप्ता हुने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गतेदेखि ३० गतेसम्म संचालन गर्ने निर्णय पनि गरेकाे छ ।
यसैबीच राप्रपाले पौष २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन राप्रपा सरकारसंग गरेको छ ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १७:५८