२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक

४ फागुन, काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो देखिएका छन्। उनको क्यारेक्टर नाम काल रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ। ठकुरीलाई धेरै चलचित्रमा नदेखिने थोरै चलचित्रमा आफ्नो उलेख्य उपस्थिति जनाउने कलाकारको रुपमा लिने गरिन्छ। उनको यो लुक्सले फिल्म ‘एक्लो’ को अझै कौतुहलता थपिएको छ। चलचित्र केहि फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन्।

चलचित्रका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो। लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुटेका छन्। हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। चलचित्रको सम्पूर्ण कार्य सकिए पश्चात मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए।

यो चलचित्रमा स्टारकास्टहरूको लाइन नै लागेको छ । जसमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।

प्रकाशित मिति : 17:04