२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

३ फागुन, काठमाडौँ । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली सेनामाथि आक्रमण भएको छ । आक्रमणमा परेर उपरथी चोकबहादुर ढकाल घाइते हुनुभएको  छ ।

लेबनानको राजधानी बेरुतनजिक युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकेर तोडफोड गर्दा उहाँ घाइते हुनुभएको हो ।

घटना गएराति १२ बजेतिरको भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । भीडको हमलाबाट घाइते उपरथी ढकाललाई तत्कालै उद्धार गरी यूएन लेबल ३ हस्पिटल बेरुत पुऱ्याइएको थियो। हाल उहाँ खतरामुक्त रहनुभएको अस्पतालको भनाइ छ।

डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा हुनुहुन्थ्यो। युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गरी दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकविरुद्ध भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

संयुक्त राष्ट्र संघले शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेको छ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले पनि तत्काल अनुसन्धान गरी संलग्न व्यक्तिरसमूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

प्रकाशित मिति : 14:25