१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

एमाले विदुर अधिवेशनः केशव, विन्दा र बद्रीको समूह हराउँदै नारायणको टिम कमब्याक

३० माघ, नुवाकोट । नेकपा एमालेको विदुर नगर कमिटीको दोस्रो अधिवेशनमा संस्थापन समूहको प्यानल नै कोल्याप्स पार्दै नारायण खतिवडा समूहका नेताहरूको प्यानलनै विजयी भएको छ ।

मंगलबार एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले उद्घाटन गर्नुभएको अधिवेशनमा बुधबार नेतृत्वको चयनका लागि मतदान भएको थियो । बुधबार राति अबेर प्राप्त नतिजामा सञ्जिव श्रेष्ठ नेतृत्वको प्यानलले अनुजकुमार श्रेष्ठको प्यानललाई हरायो ।

बुधबार राति अबेर सार्वजनिक मत परिणामा अध्यक्षमा विजयी सञ्जिवले १५८ मत प्राप्त गरी विजयी हुँदा अनुज श्रेष्ठ १०६ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी श्रेष्ठ विदुर खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहून्छ ।

विजयी श्रेष्ठलाई पूर्व अध्यक्ष नारायण खतिवडा र पूर्व उपाध्यक्ष बुद्धि प्रधानले साथ दिनुभएको थियो । त्यस्तै पराजित श्रेष्ठलाई केन्द्रीय सदस्यद्धय केशवराज पाण्डे र विन्दा ढुंगाना एवं जिल्ला अध्यक्ष बद्री मैनालीले साथ दिनुभएको थियो ।

विजयी श्रेष्ठको समूहको संरक्षण केन्द्रमा उपाध्यक्ष सुरेन्द्र पाण्डे समूहले गर्ने गरेको छ भने पराजित श्रेष्ठ समूहको संरक्षण अध्यक्ष केपी शर्मा ओलीको समूहले गर्ने गरेको छ । अधिवेशनमा प्यानल प्रतिस्पर्धा भए पनि एमालेमा गुट नभएको विश्वास केन्द्रीय नेतृत्वको रहँदै आएको छ ।

योसँग नुवाकोटमा मतदानकै माध्यमबाट एमालेभित्र नारायण खतिवडाको समूहको कमब्याक भएको छ । पछिल्लो समय खतिवडा निकै मसिनो ढंगले पार्टीको गतिबिधिमा सहभागी हुँदै आउनुभएको छ ।

उपाध्यक्षमा श्याम कृष्ण चालिसे १७३ मतसहित विजयी हुँदा देवनारायण चित्रकारले ९० मत प्राप्त गर्नुभयो । सचिवमा तोयानाथ तिम्सिनाले १४८ मतसहित विजयी हुँदा उपेन्द्र रिमालले १०८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपसचिवमा पुर्णबहादुर कार्की १३३ मतसहित विजयी हुँदा दिल्लीप्रसाद गजुरेलले ११८ मत प्राप्त गर्नुभयो । उपसचिव महिलामा करिना नेपाल १३७ मतसहित विजयी हुँदा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गर्नुभयो । यस्तै लेखा समिति संयोजकमा रामशरण तिम्सिना १२९ मतसहित विजयी हुँदा रामकृष्ण खडकाले ११८ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार २३:१४