पर्यटन प्रवर्द्धनको सन्देशसहित नयाँ नेतृत्व चयन गर्दै एमाले विदुर
२८ माघ, नुवाकोट । नेकपा (एमाले)को विदुर नगर कमिटीको दोस्रो अधिवेशन पर्यटन प्रवर्द्धनको सन्देशसहित हुने भएको छ । एमाले विदुर नगरकमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्द्धनको सन्देशसहित दोस्रो अधिवेशन सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सोमबार बाजेको सेकुवा बट्टारमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले अधिवेशनको तयारी सम्पन्न भएको जानकारी दिनुभयो ।
यसअघि समग्र विदुर नगरपालिका झल्कने प्रतिकमा नुवाकोट दरबार, घण्टाघर, उत्तरगयाधाम, गंगटेपार्क, दुधेला, पृथ्वीनारायण शाहको शालिकलगायत नेपालको झण्डा अङ्कित रहेको अधिवेशनको लोगो सार्वजिनक गरेर विदुरको पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरिएको थियो । नगर अधिवेशन यहि माघ २९ र ३० गते बट्टारमा हुने र त्यसको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य समेत रहनुभएको नुवाकोट इन्चार्ज केशवराज पाण्डे, केन्द्रीय सदस्य समेत रहनुभएको क्षेत्र नम्बर २ को इन्चार्ज विन्दा ढुंगाना र एमाले बागमती प्रदेश कमिटीका तर्फबाट विदर नगरको इन्चार्ज रहनुभएको प्रल्हाद प्याकुरेलको उपस्थिति हुनुहुन्थ्यो ।

अधिवेशनमा २९२ जना प्रतिनिधिले सहभागिता जनाउने छन भने उद्घाटन एमाले स्थायी कमिटी सदस्य एवं बागमती इन्चार्ज डा राजन भट्टराईले गर्नहुनेछ । नुवाकोटमा एमालेले गरिरहेको अभ्यास अनुसार केन्द्रीय सदस्य विन्दा ढुंगानाको अध्यक्षतामा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रबाटै सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको एमाले नेताहरूले जनाएका छन ।
अध्यक्षमा श्रेष्ठद्धयको दाबी
नगर कमिटीको अध्यक्षमा वर्तमान अध्यक्ष अनुजकुमार श्रेष्ठ र नगर कमिटीका पूर्व इन्चार्ज सञ्जिव श्रेष्ठले आकांक्षा देखाएका छन । अनुजकुमार संस्थापन समूह निकट मानिनुहुन्छ भने सञ्जिव दशबुँदेको नाममा फरक अभ्यास गरिरहेको समूह निकट मानिनुहुन्छ । एमालेको जिल्ला अधिवेशनमा अनुजकुमार जिल्ला अध्यक्ष बद्री मैनालीको एजेन्ट (प्रतिनिधि) हुनुहुन्थ्यो भने सञ्जिव बुद्धि प्रधानको एजेन्ट हुनुहुन्थ्यो ।
नगरकमिटीको सचिव रहनुभएको अनुजकुमार अध्यक्ष नविन प्रधान जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि कार्यबाहक अध्यक्ष हुनुभएको हो । सञ्जिव यसअघि नै जिल्ला कमिटीको सचिवालय सदस्य भएर नगरकमिटीको इन्चार्ज हुनुभएको नेता हुनुहुन्छ भने एमालेकै टिकटमा विदुर खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत हुनुहुन्छ ।
प्रकाशित मिति : २८ माघ २०८१, सोमबार १६:३४