१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

वाइडबडी भ्रष्टाचारः पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री जेल जाने संकेत

–पवित्रा मुडभरी 

१७ पुस, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदको भ्रष्टाचारमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्र देव पनि जेला जाने संकेत देखिएको छ । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारको छानविन गर्न गठन गरेको उपसमितिले मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीलाइ पनि कारबाहीको सिफारिस गरेको छ ।

नेकपाकै एक सांसदले दैनिकीसँग भने ‘उपसमितिको सिफारिस अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इमान्दिरतापूर्वक छानविन गर्ने हो भने वर्तमान मन्त्रीसहित अन्य विशिष्ट जेल जाने स्पष्ट संकेत देखिएको छ ।’ समितिको ठहर अनुसारनै अदालतले पनि ठहर गरे यसले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको रेकर्ड राख्नेछ ।

कारबाहीको सिफारिसमा पर्नेमा वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारसहित नेपाल सरकारका तीन सचिव समेत रहेका छन ।मंगलबार राति अबेर सकिएको उपसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो । उपसमितिका एक जना सदस्यका अनुसार समितिले करिव ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।

४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहरसहित समितिले ३८ पेज लामो प्रतिवेदन समेत तयार पारी पास गरेको छ । बहालवालामन्त्रीलाइ कारबाहीको सिफारिस गर्ने कि नगर्ने भन्नेमा लामो विवाद भएपछि उपसमितिले निर्णय लिन ढिला भएको थियो ।

कारबाहीका लागि सिफारिसमा पर्नेमा अवकाशको मुखमा रहेका पर्टन सचिव कृष्णप्रसाद देवकोटा, हाल गृहमन्त्रालयमा रहेका पूर्व पर्टन सचिव प्रेम राइ र हाल अवकाश पाइसकेका पूर्व पर्यटन सचिव शंकर अधिकारी पनि रहेका छन । उपसमितिले भ्रष्टाचारको बारेमा थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान अायोगलाइ पत्र लेख्ने निर्णय समेत गरेको छ । विमान खरिदमा भ्रष्टाचार भएको विषयमा समितिमा छलफल भएपछि नेपाली कांग्रेसका सांसद राजन केसीको नेतृत्वमा एउटा उपसमिति गठन गरिएको थियो ।

रविन्द्रदेखि जितेन्द्रसम्मको झुटो वयान

रविन्द्र अधिकारीले महालेखापरीक्षक टंकमणि शर्मासँग कुराकानी गरेर रकम भुक्तानी दिएको भनी झुठो बयान दिएका थिए । जसको प्रतिवाद तत्कालै महालेखापरीक्षक टंकमणि शर्माले गरेका थिए । उपसमितिमै दिएको वयानमा समेत उनीहरू दुबैको कुरा रेकर्ड भएकाले समितिले रविन्द्र अधिकारीले झुटो वयान दिएको ठहर गरेको छ । अधिकारी पर्यटनमन्त्री भएपछि दुई किस्ताको रकम भुक्तानी पठाइएको थियो। तर रविन्द्रले कहिले थाहा नभएको जवाफ दिएका थिए भने कहिले टेलिभिजनको बुम नै हातले हुत्याउनेसम्मको काम गरे ।

यस्तै हाल नेपाली कांग्रेस पार्टीमा रहेका पूर्वमन्त्री जितेन्द्र देवले पनि उपसमितिलाइ झुक्याउने काम गरेका छन । उनले अाफैँले पहिलो किस्ता रकम तिरेर अाफैँलाइ जानकारी नभएको वयान दिएका थिए । तर पूर्वमन्त्री देवकै हस्ताक्षरमा विमानको भुक्तानी पठाइएको थियो ।

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार २३:३७