७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

अष्ट्रेलियाका नेपाली पत्रकारहरुको तेस्रो अधिवेसन फेब्रुअरी २१-२२ राजधानी क्यानबेरामा हुँदै

अष्ट्रेलिया । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारको साझा संगठन अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसिएसन (एञ्जा) को तेश्रो अधिवेशन फेब्रुअरी महिनाको २१ र २२  अस्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ ।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एञ्जा अध्यक्ष चिरञ्जिवी देवकोटाले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका तयारी दुर्तर गतिमा भैरहेको बताउनु भयो ।
एञ्जाले अधिवेशन सफल बनाउन अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजकत्वमा कृष्ण तिवारी, प्रकाश हुमागाई, छत्र शंकर, महासचिव नारायण खड्का, कोषाध्यक्ष खगेन्द्र सत्याल,
सचिव सरल गुरुङ, पब्लिक अफिसर गणेश भट्ट, प्रवक्ता तक्दीर अधिकारी सदस्य रहेको तयारी समिति गठन गरेको छ । यस्तै कार्यक्रम तथा आर्थिक व्यवस्थापनका का लागि उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति निर्माण गरिएको छ । उक्त समितिले अधिवेशनको आयोजना लागि हल तथा आर्थिक व्यवस्थापनको लगायतको तयारी गरिरहेको महासचिव नारायण खड्काले बताउनुभयो । उहाले अधिवेशन क्यानवेरा स्थित स्पाईस रुट्स रेष्टुरेन्टको सभा हल हुने बताउनु भयो ।
यसैगरि हरेक दुई वर्षमा अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्ये एकजनालाई प्रदान गरिँदै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्थाका अध्यक्ष देवकोटा, कानुनी सल्लाहका टोनु घोताने र  सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारी सम्मिलित छनोट समिति गठन गरिएको छ । एन्जा कार्यसमितिले अष्ट्रेलियामा क्रियाशिल पत्रकारहरुको लिष्ट समितिलाई उपलब्ध गराउने र समितिले आवश्यक मापदण्ड बनाएर पुरस्कृतको छनौट गर्ने एन्जाले जनाएको छ ।
अघिल्लो वर्ष ब्रिसबेनमा सम्पन्न भएको विधान अधिवेशनले तोके बमोजिम पत्रकारिता गरेका तर हाल सक्रिय नरहेका आफ्ना सदस्यहरुलाई संस्थाले एन्जा काउन्सिलमा समेट्ने तयारी समेत गरेको छ ।  नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिक प्रतिनिधि संस्थाको मान्यता दिएको एन्जाको स्थापना २०१९ मा भएको हो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार ०३:१७