११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

रूपन्देही अदालतले रविसँग माग्यो १ करोड धरौटी

१३ माघ, काठमाडाैँ । सुप्रिम सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले तत्काल प्राप्त प्रमाणले उनलाई निर्दोष मान्न नमिल्ने भनी १ करोड रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यसअघि सहकारी ठगीसम्बन्धी आरोपमा रविको धरौटी रकम कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौँ जिल्ला अदालतले ६० लाख रूपैयाँ राखेर थुनाबाहिरै बस्न अनुमति दिएका थिए। कास्की, काठमाडौँ र रुपन्देहीका तीनवटै अदालतको निर्णयपछि रविको कुल धरौटी रकम २ करोड २५ लाख रूपैयाँ पुगेको छ।

अब रविविरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा सहकारी ठगीका अतिरिक्त मुद्दाहरू दायर गरिने छन्। रूपन्देहीको अदालतमा रविलाई थुनामा पठाउने कि बाहिर बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने विषयमा तीन दिनसम्म बहस भएको थियो।

सहकारी ठगी र संगठित अपराधका आरोपमा मुद्दा दायर गरेपछि रवि लामिछाने बुधबार अदालतमा हाजिर भएका थिए। बयानको आधारमा बिहीबारदेखि थुनछेक बहसको प्रक्रिया सुरु भएको थियो, जहाँ आइतबार रविका वकिलहरूले बहस गरेपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको छ। उनीहरूले संगठित रूपमा सहकारीको ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ गैरकानुनी रूपमा अन्य कम्पनीमा लगेर ठगी गरेको आरोप छ। अभियोगपत्रमा सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार सहकारी संस्थालाई बिगो भराई पाउनको लागि माग गरिएको छ। साथै, प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति रोक्का राख्ने आदेश पनि माग गरिएको छ।

रवि लामिछानेमाथि १३ करोड रुपैयाँको हिनामिना ठगीमा संलग्न भएको आरोप छ । जसमा ४ करोड रुपैयाँभन्दा बढी उनले व्यक्तिगत रूपमा गुमाएको उल्लेख गरिएको छ। उनलाई गोर्खा मिडिया नेटवर्क नामक कम्पनीमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाट भुक्तानी लिएको पाइएपछि यो खुलासा भएको हो।

सहकारीबाट गोर्खा मिडियामा रविको नाममा रकम जम्मा भएको र सहकारी संस्थाको लेखा हिसाब, जीसीएस बैंकिङ सफ्टवेयर प्रणाली, डे बुक, आन्तरिक भौचर र ऋणसम्बन्धी पत्रबाट यसको पुष्टि भएको पनि अभियोगपत्रमा उल्लेख छ। गोर्खा मिडियामा रवि लामिछानेको प्रबन्ध निर्देशकको हैसियतमा विभिन्न समयमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेको आरोप छ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १९:००