१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने चन्द्रकला र सरिता पक्राउ

५ माघ, काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् ।

पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौँ बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरेको हो ।

चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार १७:०३