भूमि आयोग धादिङको अध्यक्षमा हरि पन्त, नियुक्ति खान पार्टी प्रवेश गरेका अर्याल ट्वाँ
२९ पुस, धादिङ । भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा त्रिपुरासुन्दरी गाँउपालिका १ सल्यानटार निवासी हरि पन्त नियुक्त हुनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै पन्तलाई अध्यक्षमा नियुक्त गर्नुभएको हो ।
पन्त नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको अध्यक्ष समेत हुनुहुन्छ । पन्त एमाले महासचिव शंकर पोखरेल निकट रहेर धादिङमा छुट्टै विचार समूहको नेतृत्व गर्ने डा खेम लोहनीको आफन्त हुनुहुन्छ । उहाँ नतामा भान्जा पर्नुहुन्छ । यद्यपी पन्त पार्टीको इमान्दार नेताको रूपमा परिचित हुनुहुन्छ ।

पन्तको नियुक्तिसँगै केही दिनअघि मात्र आयोगको धादिङ अध्यक्ष बन्ने भन्दै नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका कृष्णप्रसाद अर्याल भने ट्वाँ परेका छन । समाजवादी पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य अर्याल केही एमाले नेतासँग आयोगको अध्यक्ष हुन पाउने सहमति गरेर पार्टी प्रवेश गरेको चर्चा धादिङमा चल्न थालेको छ । अर्याललाई एमालेमा डा लोहनीले नै स्वागत गर्नुभएको थियो ।

अर्याल कि पन्त भन्ने लामो बहस चलिरहँदा धादिङको अध्यक्षमा सपथ ग्रहणको केहीबेर अघि मात्र पन्तले नियुक्त पत्र बुझ्नुभएको छ । सोमबार नै सहकारी प्रशिक्षण केन्द्र काठमाडौँमा अध्यक्षहरूको सपथ ग्रहण भएको छ । अर्याल यसअघि कांग्रेस, माओवादी र समाजवादी गठबन्धनको सरकारको सयमा आयोगको धादिङ अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्षको खास स्वाद थाहा पाइसकेका कारण अर्याल पुनः अध्यक्ष बन्ने अपेक्षाले एमाले प्रवेश गर्नुभएको थियो ।
अन्य जिल्लामा नियुक्त भएका अध्यक्षहरूको सूची तल हेर्न सक्नुहुन्छ ।


प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १५:४४






