घरको नक्सा पास नगरे नुवाकोटको बेलकोटगढीका भूकम्प पीडितले अन्तिम किस्ता नपाउने
७ चैत, नुवाकाेट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका भूकम्पपीडितले सरकारले निजी आवास निर्माणका लागि दिने अनुदानको अन्तिम किस्ता लिनका लागि घरको नक्शा पारित गर्नुपर्ने भएको छ ।
नगरपालिकाले पुनःनिर्माण प्राधिकरणमार्फत घर निर्माण गरिरहेका र नगरपालिकाभित्र आफूखुशी घर निर्माण गर्ने नगरवासीले अनिवार्य नक्शा पारित गर्नुपर्ने निर्णय गरी नक्शा पारितको दस्तुरसमेत तोकेको छ ।

नगरपालिकाका सबै घरको नक्शा पारित गरेर मात्र घर निर्माण गर्ने प्रचलनको थालनी गर्न यस्तो व्यवस्था गरिएको नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।
नगरपालिकालेभूकम्पपीडित नगरवासीको घरको नक्शा बनाउनका लागि प्राविधिकको सूची नै माग गरेर कार्यालयमा सूचीकृत गरिराखेको छ । भूकम्पपीडितले सोही सूचीमा रहेको परामर्शदाता प्राविधिकमार्फत नक्शा बनाएर नगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाका मेयर राजेन्द्र रमण खनालले बताए ।
खनालका अनुसार नक्शा निर्माणका लागि नगरपालिकामा सूचीकृत परामर्शदाताले रु दुई हजार ५०० भन्दा बढी रकम असुल गर्न नपाउनेसमेत निर्णय भएको छ ।
प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:४१












