सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि गर्नुपर्छः मन्त्री दाहाल
२९ पुस, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघले सोमबार काठमाडौमा गरेको सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धी विषयको राष्ट्रिय कार्यशालालाई संवोधन गर्दै उहाँले सार्वजनिक यातायातमा समेत अपाङ्गता भएकाहरुको पहुँच बढाउन जरुरी रहेको बताउनुभयो । अब बन्ने सडक तथा संरचनालाई अपांगतामैत्री बनाउन सरकारले ध्यान दिएको भन्दै उहाँले अपाङ्गतामैत्री संरचना र संरचनामैत्री सवारी साधनहरुको उपयोग आवश्यक रहेको बताउनुभयो ।
यस्तै अहिले निर्माणाधिन र निर्माण हुने सडक एवम् संरचनाहरुलाई सुरक्षित तथा दिगो बनाउन मन्त्रालयले प्राथमिकता दिएको भन्दै उहाँले भन्नुभयो,‘हामीले पूर्वाधार निर्माणमा मात्र जोड दिएका छैनौं, सुरक्षित पूर्वाधारमा जोड दिएका छौं । सडक एवम् सवारी दुर्घटना मार्फत हुने अपाङ्गता न्युनिकरणका लागि हामी प्रतिवद्ध छौं ।’ सडक तथा सवारी दुर्घटना समेत अपाङ्ता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सवै पक्षको सहकार्यको आवश्यकतामा उहाँले जोड दिनुभयो । मन्त्री दाहालले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकता दिन भन्दै उहाँहरुलाई सुनिश्चित गरिएको सुविधा एवम् छुटबाट बञ्चित नगराउन समेत यातायात व्यवसायी एवम् मजदुरहरुलाई आग्रह गर्नुभयो ।
यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायातलाई सवै सेवाग्राहीमैत्री बनाउन संघीय सरकार मार्फत नीतिगत तथा कानूनी प्रवन्धहरु गरिएको बताउनुभयो । तर यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रदेश सरकारहरु समेत गम्भिर रुपमा यस तर्फ लाग्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवै सवारी साधनहरुमा अपाङ्गतामैत्री व्यभारका लागि मजदुर एवम् व्यवसायीहरुलाई अभिमुखीकरण समेत गर्ने गरिएको बताउनुभयो । नयाँ सवारी साधनहरु आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारी साधनहरु भित्¥याउन सकिने बताउनुभयो । तर नेपाली सडक तथा संरचनाहरुलाई समेत अपाङ्गता मैत्री बनाउनु पर्नेमा उहाँको जाड थियो ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, आयोजक संस्थाका पूर्व अध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर संगठनका प्रतिनिधी लगायतले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धीका लागि अपाङ्गतामैत्री संरचनाहरुको खाँचो रहेको बताएका थिए ।
प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १३:०८






