२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

नाबालिका बलात्कारको मुद्दामा नुवाकोटका भुषण बोगटीलाई १९ वर्ष कैद र ७ लाख जरिवाना

२६ पुस, नुवाकोट । नाबालिका बलात्कारको मुद्दामा नुवाकोटका भुषण बोगटीलाई १९ वर्ष कैद र ७ लाख जरिवानाको फैसला भएको छ । नुवाकोट जिल्ला अदालतले दश वर्षीया बालिका बलात्कारको अभियोग लागेका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका भुषण बोगटीलाई दोषी ठहर गर्दै १९ वर्ष कैद र ७ लाख रूपैयाँ जरिवानाको फैसला गरेको हो ।

बिहीबार जिल्ला अदालत नुवाकोटका न्यायाधीश शुभाषबाबु पुरीको इजलाशले पुस १८ गते नबालिका बलात्कारको मुद्दामा दोषी ठहर भएका बोगटीको सजाय निर्धारण गर्नुभएको हो । कसुर ठहर गरेसँगै सजाय निर्धारणका लागि उही पुस २५ गते बिहीबारका लागि सजाय निर्धारको पेशी तोकिएको थियो । बिहीबारको पेशीमा भुषणको सजाय निर्धारण भएको हो ।

बालिका बलात्कारमा संलग्न रहेका बोगटी गत जेठ २४ गते घरबाटै पक्राउ परेका थिए । यसअघि असार १४ गते भएको प्रारम्भिक सुनुवाइमै जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलाशले बोगटीलाई थुनामै राखेर बाँकी कारबाही अघि बढाउने आदेश दिएको थियो । त्यस दिन पीडितको पक्षबाट जिल्ला सहन्याधीवक्ता विकास बञ्जरा र पीडकको पक्षबाट अधिवक्ताद्धय बसन्त बस्नेत र राजाराम थपलियाले बहस गर्नुभएको थियो ।

dainiki.com

बोगटीले १० वर्षीया बालिकालाई जेठ २४ गते बिहान ६ः३० बजेको समयमा जबरजस्ती करणी गरेको कुरा आंशिक स्वीकार समेत गरेका थिए । पीडक बोगटीले ओढ्ने ओढेर ओछ्यनमा सुतिरहेकी बालिकालाई त्यही ओढ्नेभित्र बसेर तिघ्र कम्मर लगायतमा चिमोट्ने काम गरेको र सोही क्रममा आफ्नो मोबाइल खसेको भन्दै पछि फेरि बालिका भएको ठाउँमा पुगी मोबाइल ल्याएको भन्दै कसुर आंशिक स्वीकार गरेका थिए ।

पीडित बालिकाले भने बोगटीले बलात्कार गरेर कसैलाई नभन्नु भन्दै ५० रूपैयाँ दिएर बोगटी भागेको बताएकी थिइन । यद्यपी पीडकले डर देखाएर धम्की दिएका कारण त्यस बिहान बालिका विद्यालय गएको र विद्यालयबाट फर्किएपछि बालिकालाले बलात्कारको विवरण अभिभावकहरूलाई सुनाएकी थिइन ।

यो पनि पढ्नुहोस्

बालिका बलात्कारमा संलग्न बोगटी दोषी ठहर, मुद्दा प्रभावित पार्ने राजनीतिक प्रयास असफल

-११ वर्षिया बालिका बलात्कारको अभियोगमा नुवाकोट तुप्चेका भुषण बोगटी पक्राउ

-बालिका बलात्कारको अभियोग लागेका विदुरका भुषण बोगटी पूर्पक्षका लागि कारागार चलान

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार ०७:५९