गणेशलाई आईजी बनाउन अवकाशको केही घण्टा अघि सशस्त्रका चार डीआईजीको म्याद थप
२३ पुस, काठमाडौँ । गणेश ठाडा मगरलाई सशस्त्र प्रहरी बलको महानिरीक्षक बनाउनका लागि अवकाशको केही घण्टा अघि चार जना डीआईजीको म्याद एक वर्षका लागि थपिएको छ । सशस्त्र प्रहरी नियमावलीमा भएको छिद्रमा टेकेर महानिरीक्षक राजु अर्यालको सिफारिसमा चार डीआईजीको म्याद थप भएको हो ।
मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेबाट अवकाशमा जाने चार डीआईजीको राति १० बजे म्याद थप गरिएको हो । चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदी रहेका छन ।
अब उनीहरू एक वर्षका लागि पुनः काममै सक्रिय हुनेछन भने आगामी वैशाखमा गणेश ठाडा मगर एआईजीमा बढुवा हुनेछन । उनीसँग प्रतिस्पर्धामा कमल गिरी भए पनि ठाडा मगरले जस्तै शक्तिकेन्द्रको सन्तुलन मिलाउन उनलाई कठिन हुने आँकलन रहेको छ ।
गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्। सुवेदी २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
गिरी र मगर २०५६ असार ३ र नेम्वाङ ०५६ कै टोलीको वैकल्पिकका रुपमा नेपाल प्रहरी सेवामा भर्ना भएका थिए । उनीहरु २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा एक तह बढुवासहित उक्त संगठनमा समायोजन भएका हुन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।
प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार २२:३६