बालिका बलात्कारमा संलग्न बोगटी दोषी ठहर, मुद्दा प्रभावित पार्ने राजनीतिक प्रयास असफल
२३ पुस, नुवाकोट । नुवाकोट जिल्ला अदालतले दश वर्षीया बालिका बलात्कारको अभियोग लागेका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका भुषण बोगटीलाई दोषी ठहर गरेको छ । नेकपा माओवादी केन्द्रका नेताहरूसँगको पारिवारिक नाताभित्र पर्ने भएका कारण बोगटीको मुद्दा प्रभावित गर्न अनेक प्रयास भएका थिए तर ती सबै प्रयास असफल भएको छ ।
जिल्ला अदालत नुवाकोटका सूचना अधिकारी दीपा न्यौपानेले पुस १८ गते बिहीबार जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलाशले भुषण बोगटीको कसुर ठहर गरेको जानकारी दिनुभयो । कसुर ठहर गरेसँगै सजाय निर्धारणका लागि उही पुस २५ गतेका लागि अर्को पेशी तोकिएको छ । अब बोगटीको दण्ड जरिवानाको विषय २५ पुसमा टुंगिने छ ।
बलात्कारी ठहर भएका बोगटीको पक्षमा बहसका लागि काठमाडौँबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाका कानुनी सल्लाहकार (महान्यायाधीवक्ता) डा दिनमणि पोखरेल समेत नुवाकोट आइपुग्नुभएको थियो । झण्डै न्यायाधीश सिफारिसमा पर्नुभएको पोखरेल सत्तागठबन्धन भत्किएपछि प्रक्रियामा पछि पर्नुभएको थियो । बोगटी प्रचण्ड परिवारकै नातेदार भएका कारण पोखरेल बहसमा सहभागी भएको बुझिएको छ ।
बालिका बलात्कारमा संलग्न रहेका बोगटी गत जेठ २४ गते घरबाटै पक्राउ परेका थिए । यसअघि असार १४ गते भएको प्रारम्भिक सुनुवाइमै जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलाशले बोगटीलाई थुनामै राखेर बाँकी कारबाही अघि बढाउने आदेश दिएको थियो । त्यस दिन पीडितको पक्षबाट जिल्ला सहन्याधीवक्ता विकास बञ्जरा र पीडकको पक्षबाट अधिवक्ताद्धय बसन्त बस्नेत र राजाराम थपलियाले बहस गर्नुभएको थियो ।
बोगटीले १० वर्षीया बालिकालाई जेठ २४ गते बिहान ६ः३० बजेको समयमा जबरजस्ती करणी गरेको कुरा आंशिक स्वीकार समेत गरेका थिए । पीडक बोगटीले ओढ्ने ओढेर ओछ्यनमा सुतिरहेकी बालिकालाई त्यही ओढ्नेभित्र बसेर तिघ्र कम्मर लगायतमा चिमोट्ने काम गरेको र सोही क्रममा आफ्नो मोबाइल खसेको भन्दै पछि फेरि बालिका भएको ठाउँमा पुगी मोबाइल ल्याएको भन्दै कसुर आंशिक स्वीकार गरेका थिए ।
पीडित बालिकाले भने बोगटीले बलात्कार गरेर कसैलाई नभन्नु भन्दै ५० रूपैयाँ दिएर बोगटी भागेको बताएकी थिइन । यद्यपी पीडकले डर देखाएर धम्की दिएका कारण त्यस बिहान बालिका विद्यालय गएको र विद्यालयबाट फर्किएपछि बालिकालाले बलात्कारको विवरण अभिभावकहरूलाई सुनाएकी थिइन ।
यो पनि पढ्नुहोस्
-११ वर्षिया बालिका बलात्कारको अभियोगमा नुवाकोट तुप्चेका भुषण बोगटी पक्राउ
-बालिका बलात्कारको अभियोग लागेका विदुरका भुषण बोगटी पूर्पक्षका लागि कारागार चलान
प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १५:२४