२२ पुष २०८१, सोमबार | Tue Jan 7 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

२१ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।

यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बस्दैछ । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संविधान संशोधनलगायतका एजेण्डामा ठोस धारणा तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार ०८:४४