एमबीबीएसमा नाम निकालिदिने भन्दै एमाले नेताले खाए ३८ लाख ८० हजार घुस
१९ पुस, काठमाडौँ । नेकपा (एमाले)को तर्फबाट प्रदेशसभा(प्रदेश सांसद)मा टिकट नपाएपछि प्रतिनिधिसभा सदस्य (संघीय सांसद) एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको स्वकीय सचिव बनेका नेकपा एमाले मोरङका नेता अनिल पोखरेल पदबाट बर्खास्त भएका छन । सभापति पोखरेलले ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि स्वकीय सचिवबाट बर्खास्त गरेको भन्दै शुक्रबार विज्ञप्ति निकालेका छन ।
पोखरेल २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर २ को कोसी प्रदेशसभा क्षेत्र नम्बर ९२० बाट उम्मेदवार सिफारिस भएका थिए । यद्यपी यसअघि मन्त्री पदमा हुँदा मानवतस्करीको अभियोग लागेका लिलाबल्भ अधिकारीले टिकट पाएपछि उनी प्रतिनिधिसभामा विजयी ऋषिकेष पोखरेलको स्वकीय सचिव बन्न तयार भएका थिए ।
उच्च अदालले पक्राउका लागि परमादेश जारी गर्नुपूर्व पदको दुरूपयोग गरी प्रहरीलाई प्रभावमा राख्न सफल भएका पोखरेलले उच्चको परमादेशपछि भने स्वकीच सचिवको जागिर खोसेका छन । उनले विज्ञप्ति मार्फत ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले स्वकीय सचिवबाट हटाएको उल्लेख गरेका छन । साथै पोखरेलले भ्रष्टाचारजन्य कसुरमा संलग्न जोकोही भए पनि उनीहरू माथि समेत कानुन अुनसार कारबाही हुनुपर्ने उल्लेख गरेका छन ।

श्रीमती अञ्जला कोइरालाविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भए पनि उनलाई भगाउन पोखरेलले नै भूमिका खलिरहेका छन । ऋषिकेशकै प्रभावमा प्रहरीले कोइरालालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । अञ्जला शिक्षक रहेका कारण उनका लागि अनिश्चितकालीन विदा दिन भन्दै ऋषिकेशले विद्यालयमा दबाब दिएको विषय केही दिनदेखि सञ्चारमध्यममा प्राथमिकताका साथ प्रकाशन र प्रशारण भैरहेका छन ।
स्वकीय सचिव पोखरेलविरूद्ध यसकारण जारी भयो पक्राउ पुर्जी
एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेल एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ घुस खाएका थिए । पछि प्रवेश परीक्षामा नाम ननिस्किएपछि उनले पद र शक्तिको दुरूपयोग गरी जोसँग घुस खाएका थिए उनैलाई ५० लाख ऋण लिएको लिखत बनाइ हस्ताक्षर गराएका थिए । पोखरेलले त्यसरी घुस लिएका व्यक्ति हुन बौआलाल चौधरी । उनले छोरीलाई चिकित्सा शिक्षा पढाउने मुख्य उद्देश्यले घुस खुवाएर भए पनि प्रवेश परीक्षा पास गराउन खोजेका थिए तर त्यो सम्भव भएन ।
त्यसपछि उनले घुस फिर्ता मागे तर पोखरेलले उल्टै ऋण लिएको भन्दै कागज बनाएर ठगेर खानखोजेपछि विषय प्रहरीकोमा पुगेको हो । पोखरेल एमालेको जिल्लास्तरीय नेता र ऋषिकेश पोखरेलको स्वकीय सचिव भएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले उनको जाहेरी समेत लिन नमानेको थियो । त्यसपछि चौधरी जिल्ला सरकारी वकिलको कार्यालयमा पुगे । त्यहाँबाट पत्र पठाउँदा पनि मोरङ प्रहरीले एमालेको प्रभावमा उनको जाहेरी लिनै मानेन । त्यसपछि उनी पक्राउको आदेश माग्दै उच्च अदालत पुगेका थिए ।
उच्च अदालत विराटरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले एमाले नेता पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । अदालतको आदेशसँगै जिल्ला प्रहरी कार्यालयले उनको विरूद्धमा पक्राउ पुर्जी जारी गरेको छ ।
चौधरीले अदालतमा दायर गरेको रिटमा भनिएको छ, ‘पोखरेलले मसँग भेटी मेरो छोरी दीक्षा चौधरीलाई उच्च शिक्षा एमबीबीएस पढाउन, मेरो पहुँच माथिसम्म पावर छ, म तपाईंको छोरीलाई एमबीबीएस डाक्टरी पढाउन नाम निकाल्न, होस्टलमा राख्नसमेत वातावरण बनाइदिन्छु भनि आश्वासन दिई तपाईंको छोरी डाक्टर बनिहाल्छ तपाईंले सो वापत मैले भनेजति रुपैयाँ दिनुपर्छ तर तपाईंले केही गर्नुपर्दैन भनी विश्वासमा पारी पटकपटक गरी जम्मा ३८ लाख ८० हजार मैले दिएको हो ।’
पछि छोरीको नाम ननिस्केपछि घुस फिर्ता मागेका चौधरीलाई हिसाब मिलाउन बोलाएर पोखरेलले ५० लाखको ऋणको कागजमा हस्ताक्षर गराएका थिए । चौधरीले अदालतमा पेश गरेको अभियोगमा भनिएको छ, ‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु आउनुहोस् भनी मलाई बोलाइ ८–१० जनाको समूह मानिस भई मलाई २०७४ असार २५ गते आइतबार कपाली लिखतमा ऋणी मलाई बनाइ ५० लाख रुपैयाँको कागजमा विपक्षी धनी भई जोरजुलुम गरी कागज बनाएको।’
प्रकाशित मिति : 13:10









