विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री उपहार
१६ पुस, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नम्बर ८ मा अवस्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीले पोशाक र शैक्षिक सामग्री प्राप्त गरेका छन । विद्यालयका ५० जना विद्यार्थीले मंगलबार एक कार्यक्रमको बीचमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हातबाट पोशाक र शैक्षिक सामग्री प्राप्त गरेका छन ।
अभिभावक भेलासहितको सामग्री बितरण कार्यक्रममा विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरूसँगै विद्यालयका अभिभावकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले विद्यार्थीका लागि पोशाक र शैक्षिक सामग्री प्रदान गर्ने दाताहरूलाई धन्यवाद दिँदै प्रभावकारी समन्वयका लागि वडा अध्यक्ष केशवप्रसाद रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल पाण्डेलाई विशेष धन्यवाद दिनुभयो ।
उहाँले विद्यालय सबैको भएका कारण विद्यालयको चातर्फी विकासका लागि स्थानीय सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । उहाँले सबै अभिभावकको जारूकताले विद्यालयको शैक्षिक अवस्थामा समेत सुधार ल्याउन सकिने भन्दै गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।
सोही कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद रिजालले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्तिको समयमा धेरैले पाण्डेलाई रोक्न खोजेको भए पनि उहाँको काम गराईले विद्यालयमा उहाँको आवश्यकता रहेको कुरा कामबाटै पुष्टि भएको बताउनुभयो । उहाँले पाण्डेको नियुक्तिमा आफ्नो पनि आलोचना भएको सन्दर्भ उल्लेख गर्दै पाण्डेले विद्यालयको विकासमा महत्वपूर्ण काम सुरू गरेको बताउँदै भोलिका दिनमा थप राम्रो र प्रभावकारी काम गर्ने बताउनुभयो ।
मंगलबार नै व्यवजस्थापन समितिका अध्यक्ष पाण्डेको अध्यक्षतामा अभिभावक भेला समेत सम्पन्न भएको छ । सो कार्यक्रममा जनज्ञान उच्चमाविका प्रधानाध्यापक अर्जुन लामिछाने, वडा मेलमिलास संयोजक पार्वति थपलिया, कालिका माविका शिक्षक यादवप्रसाद पाण्डे, जनज्ञान माविका पूर्व प्रधानाध्यापक महेश सिटाैला, कुम्भेश्वर माविका प्रधानाध्यापक माधव ठकुरी र पूर्व प्रधानाध्यापक श्यामप्रसाद पाण्डे र राजन थपलिया लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार २१:३९