१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

एमाले बेलकोटगढीको अधिवेशन शनिबार, नेतृत्व सर्वसम्मत चयन हुने

१२ पुस, नुवाकोट । नेकपा एमालेको बेलकोटगढी नगर कमिटीको अधिवेशन शनिबार हुने भएको छ । बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ रातमाटेमा पुस १३ गते शनिबार र पुस १४ गते आतइबार दुई दिन अधिवेशन हुने अधिवेशन आयोजक कमिटीका सचिव वासुदेव गजुरेलले दैनिकीलाई जानकारी दिनुभयो ।

उहाँले अधिवेशनको उद्घाटन र बन्दसत्र फरक फरक स्थानमा हुने जानकारी दिनुभयो । उद्घाटन वडा नम्बर ७ को महादेवफँटमा हुनेछ भने बन्दसत्र वडा नम्बर ८ मा रहेको चेरी रिसोर्टमा हुनेछ ।

अधिवेशनको पूर्वमन्त्री समेत रहनुभएको एमाले केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । गाउँनगर अधिवेशनमा यो पटक सम्बोधन गर्न नुवाकोट आउन लाग्नुभएको भट्टराई पहिलो पदाधिकारी हुनुहुन्छ ।

जिल्लामा कतिपय पालिकामा मतदानको माध्यमबाट नेतृत्वको चयन भैरहेको भए पनि बेलकोटगढीमा सर्वसम्मत नेतृत्व चयनको तयारी भएको सचिव गजुरेलले बताउनुभयो । उहाँले अधिवेशनमा २६६ जना प्रतिनिधिले सहभागिता जनाउने सुनिश्चित भएको पनि जानकारी दिनुभयो । यद्यपी प्रतिनिधि मनोनित भएमा केही संख्या बढ्नेछ । जसको निर्णय शनिबार बिहानमात्र हुनेछ ।

अधिवेशनमा प्रायः जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनमा सहभागी नभएका नेताहरू प्रतिनिधि चुनिएर आएका छन । केन्द्रीय कमिटी सदस्य एवं नुवाकोट इन्चार्ज केशवराज पाण्डे र जिल्ला अध्यक्षका प्रत्यासी माधवप्रसाद तिवारीको भूगोल भएका कारण बेलकोटगढीको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारीका लागि नेताहरूले केही दिनदेखि आंकांक्षीहरूसँग बसेर छलफल चलाइरहनुभएको छ । यस कामको नेतृत्व समेत स्वयं जिल्ला इन्चार्ज केशवराज पाण्डेले गरिरहनुभएको छ । नेतृत्वका लागि अहिले अध्यक्ष रहनुभएको पशुपति लोहनी, उपाध्यक्ष भोजप्रसाद पुडासैनी, पूर्व जिल्ला कमिटी सदस्य रमेश न्यौपाने र हरिहर सिलवालको नाम चर्चामा रहेको छ ।

सर्वसम्मत नयाँ कमिटी बन्दा वर्तमान अध्यक्षलाई नै निरन्तरता दिइने सम्भावना रहेको कतिपय नेताहरूले बताएका छन । यद्यपी अधिवेशनको बन्दसत्रपछि यी सबै कुराको टुंगो लाग्ने भएका कारण अहिले नेतृत्वबारेको टिप्पणी पूर्वानुमान मात्र हुनेछ ।

गत स्थानीय निर्वाचनमा भएको कार्यपालिकाको चुनावमा केही जिल्लास्तरीय नेताहरूले सहमति गरेर नेपाली कांग्रेसलाई भोट बेचेपछि एमालेको संगठनमा निराशा छाएको थियो । पछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समेत तीनै भोट बेच्ने समूहको असहयोगका कारण एमालेले प्रदेशसभामा झिनो मतान्तरमा पराजय व्यहोर्नुपरेको थियो । यस पटक बेलकोटगढी अधिवेशनको माध्यमबाट बिगतका ती सबै चोट मेट्ने गरी नयाँ नेतृत्व चयन गर्ने नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार २०:३०