१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसँग अाज छलफल गर्दै


७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई अाज काठमाडौं बोलाएका छन । प्रधानमन्त्रीले अाज बिहान ११ बजे उनीहरुसँग सामूहिक छलफल गर्दैछन । छलफल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारीले जानकारी  दिए ।

प्रदेश सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवलाई खबर पठाएको थियो । केही दिनअघि केन्द्रका मन्त्री र मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल गरेका प्रधानमन्त्री ओलीले प्रदेशका प्रमुख व्यक्तिसँग पनि छलफल गर्न लागेका हुन् ।

प्रदेश संरचनामा मुख्यमन्त्री लगायत अन्य मन्त्री र सांसदहरु अलमलमा परेको समयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उनीहरुलाई काठमाडौँ बोलाएका छन । प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएको बुझिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि अाजको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०९:१७