८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

नुवाकोटमा सरकारी कर्मचारीलाई कांग्रेसको भ्रातृ संस्थाको संयोजकको जिम्मेवारी

८ पुस, नुवाकोट । नेपाल महिला संघ नुवाकोटले आफ्नो कार्यसमिति विस्तारको क्रममा सूर्यगढी गाउँपालिकामा कार्यरत एक सरकारी कर्मचारीलाई राजनैतिक पदको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ। संघकी जिल्ला अध्यक्ष सरिता आचार्यले गाउँपालिकामा कार्यरत इश्वरी गिरीलाई महिला संघको गाउँपालिका संयोजकको जिम्मेवारी तोकेको पत्र दैनिकीले पनि प्राप्त गरेको छ ।

इश्वरी गिरी हाल सूर्यगढी गाउँपालिकाको वडा नम्बर ४ मा कार्यरत हुनुहुन्छ । सरकारी तलब खाने कर्मचारीलाई राजनीतिक दल वा भातृ संस्थाको प्रमुखको जिम्मेवारी दिनु नेपालको कानूनी र नैतिक मापदण्डविपरीत रहेको भन्दै नेपाली कांग्रेसभित्रै चर्को बिरोध सुरू भएको छ ।

नेपालको संविधान, सरकारी सेवा नियमावली, र कर्मचारी आचारसंहिताले सरकारी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाएको छ । सरकारी कर्मचारीले कुनै राजनीतिक दलको परिभाषित जिम्मेवारीमा रहेर काम गर्न नपाउने भन्दै कतिपय कर्मचारीहरूले समेत प्रश्न उठाएका छन ।

सरकारी कर्मचारी राजनीतिक रूपमा तटस्थ रहनुपर्ने भए पनि लुकिछिपि पार्टीको जिम्मेवारीमा रहने प्रचलन भए पनि खुला रूपमै यसरी परिभाषित जिम्मेवारी नै लिएर काम गर्ने परिपाटी नरहेको गाउँपालिकाका एक कर्मचारीले बताएका छन । सूर्यगढी गाउँपालिकाको कर्मचारी राजनीतिक हस्तक्षेपले थिलोथिलो बनेको समयमा कर्मचारीले पार्टीकै जिम्मेवारी लिन थालेपछि थप प्रश्नहरू समेत उठेका छन ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार २२:००