८ पुष २०८१, सोमबार | Mon Dec 23 2024

हिरासतबाटै तोक आदेशमा रास्वपा चलाउँदै रवि, तीन पद कार्यबाहकको काँधमा

८ पुस, काठमाडौं । सहकारी ठगीको मास्टरमाइन्डको काम गरेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले प्रहरी हिरासतमा बसेको दुई महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सभापति पदबाट आफैँलाई विदा दिएका छन । लामिछानेले प्रहरी हिरासतबाटै तोक आदेशमा उपसभापति डिपी अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेका छन ।

लामिछानेले हिरासतबाटै कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको सोमबार रास्वपाले पार्टी सचिवालयको बैठक बसी अनुमोदन गरेर विज्ञप्ति मार्फत जानकारी दिएको छ । सोमबार रास्वपाका कार्यबहक प्रवक्ता मनिष झाले विज्ञप्ति मार्फत पुस ६ गतेनै कार्यबाहक सभापति तोकेको जानकारी दिनुभएको छ ।

रविको संघीय सांसद पद नै निलम्बन भएपछि पार्टीको बैठकले रवि लामिछानेको तोक आदेश अनुमोदन गरेको हो । कतिपयले भने सांसद पद गुमेपछि रास्वपाले फेससेभिङका लागि पुस ६ कै सभापतिको पत्र भनेर सोमबार निर्णय गरेको आशंका समेत गरेका छन ।

हिरासतबाटै पार्टी चलाउदै र आफ्ना पक्षमा पार्टीका नाममा विभिन्न सभा र जुलुश सञ्चालनको निर्देशन दिँदै आएका लामिछानेले सोमबारबाट भने औपचारिक रूपमै आफ्नो अनुपस्थितिमा सम्पूर्ण काम गर्नुभनेर अर्याललाई पत्र थमाएका छन ।

योसँगै रास्वपा अब कार्यबाहकहरूको काँधमा पुगेको छ । पार्टीभित्र महत्वपूर्ण मानिने सभापति, महामन्त्री र प्रवक्ता तीनै पद कार्यबाहकको काँधमा पुगेको छ । यसअघि नै मुकुल ढकालमाथि कारबाही चलाउँदै लामिछानेले महामन्त्री र प्रवक्ता पदमा कार्यबाहक तोकिसकेका छन । महामन्त्रीमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्तामा सांसद मनिष झाले कार्यबाहको जिम्मेवारी पाएका छन ।

अब रविको सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधको मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रास्वपा कार्यबाहकहरूले नै चलाउनेछन । आइतबार जिल्ला अदालत कास्कीमा तीन वटा मुद्दा दर्ता भएसँगै सोमबारबाट लामिछानेको सांसदको हैसियत समेत गुमेको छ ।

सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधको मुद्दामा कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका रवि त्यसयता रूपन्देही, चितवन, पर्सा र काठमाडौँको हिरासतमा केही दिन बिताएर बाँकी दिन कास्की प्रहरीकै हिरासतमा रहेका छन ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार २१:३५