सहकारी ठगीको मुद्दामा निकिता पनि प्रतिवादी, सम्पत्ति जफत गर्न माग
७ पुस, पोखरा । सहकारी ठगी प्रकरणको चर्चित मुद्दामा चलचित्र विकास बोर्डको पूर्व अध्यक्ष निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको श्रीमति पौडेलविरूद्ध सम्पत्ति जफताका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकीलको कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले पौडेलसहित सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ । त्यसरी प्रतिवादी बनाइएको अन्यमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईं रहेका छन ।
लामिछाने विरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता भएको छ । पौडेललाई भने सम्मपत्ति शुद्धिकरणको मुद्दामा प्रतिवादी बनाइएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १५:०४