रवि लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस
७ पुस, गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज अभियोगपत्र पेस भएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिनुभयो । “अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उहाँले भन्नुभयो ।
पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १३:१८