१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रदेश २ र ५ बाट सुरू, श्रम स्वीकृतिकै लागि राजधानी धाउनु नपर्ने

१५ पुस, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको घोषणा अनुसार आजदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरु विकेन्द्रित भएको छ । पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर प्रदेश नम्बर ५ को वुटवलमा वैदेशिक रोजगारसँग सम्बन्धित सेवाहरु उपलब्ध गराउने कार्य आजबाट सुरू भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले दैनिकीलार्इ जानकारी दिए  ।

जनकपुर र वुटवल कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएकाक संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन र नियमन गर्ने, सरोकारवालाहरुबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासोहरु सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता कार्यहरु सुरू भएको प्रवक्ता रेग्मीले बताए ।

अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए । प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्नेछैन ।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । यसअघि दैनिक एक हजारको सङ्ख्यामा युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए । श्रममन्त्री विष्टले मन्त्रालय सम्हाले लगत्त वैदेशिक रोजागरसँग सम्बन्धित सेवाहरू विकेन्द्र गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार ११:०१