७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

७ पुस, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५० ग्राम सहित धादिङ गल्छी नगरपालिका-७ बैरेनी बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ४१५४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानी नजिकै सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र डाँगी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका-२ बस्ने इलाम माङ्सेबुङ गाउँपालिका-४ माचेबुङ ठेगाना भएका २४ वर्षीय रोदन लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ कालिखोला सरस्वती टोल बस्ने ४१ वर्षीय रूपेश पाख्रिनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद १२ हजार ३ सय ११ रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही ठाउँ बस्ने ३२ वर्षीय डिक बहादुर मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, बुद्धशान्ति गाँउपालिका-३ धिमाल टोल बस्ने २९ वर्षीया दुर्गा धिमाललाई अवैध लागूऔषध गाँजा ४ किलोग्राम, २ हजार ३ सय ६० भारतीय रूपैयाँ, ३ लाख ६ हजार ८ सय ७० नेपाली रूपैयाँ, तराजु १ थान र मोबाइल १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ चौवाँ बस्ने २५ वर्षीय मौसम गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ निगाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-११ जहदी बस्ने २९ वर्षीय जलन्धर केवटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १२:०४