६ पुष २०८१, शनिबार | Sat Dec 21 2024

जनताका विकासका चाहना पूरा गर्न नेता र कार्यकर्ता एकजुट हुनुपर्छ: उपप्रधानमन्त्री सिंह

६ पुस, मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस नेतृत्वको एकल सरकारले सङ्घीयतालाई अझ सुदृढ बनाउनसक्ने बताउनुभएको छ ।

निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयतालाई सबल बनाउन क्रियाशील रहेको बताउनुभयो । उहाँले गुणस्तरीय निर्माण विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो । काठमाडौँको थानकोटदेखि मकवानपुरको थाहा नगरपालिका–९ सम्म उक्त मार्ग निर्माणाधीन छ ।

यसैबीच, थाहा नगरपालिका–९ का नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई भेटेर नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संसदीय प्रजातान्त्रिक व्यवस्था संस्थागत भएको बताउँदै पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको भए पनि जनताको आर्थिक स्थिति उकास्न कांग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न आवश्यक छ भन्नुभयो । उहाँले जनताका विकासका चाहना पूरा गर्न पार्टी नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुट उपगुटमा पार्टी कार्यकर्ता विभक्त हुनुहुँदैन भन्नुभयो ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १७:५०