४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री ठकुरी

४ पुस, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग जोड्न आफ्नो मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।

उक्त मन्त्रालयको संयोजन र खाद्य तथा कृषि सङ्गठनको सहयोगमा आज यहाँ आयोजित राष्ट्रिय नीति संवादमा उहाँले वनसँग सम्बन्धित जनसरोकारका विषयमा बाधा बनेका ऐन कानुन संशोधन गरी जनतालाई समृद्धिसँग जोड्ने प्रयास भइरहेको बताउनुभयो ।

“मुलुकाका सामुदायिक वन स्थानीय जनताको सहभागिता तथा सक्रियतामा व्यवस्थित हुनु हाम्रा लागि प्रेरणा हो”, मन्त्री शाहीले भन्नुभयो । उहाँले देशका २३ हजारभन्दा बढी सामुदायिक वन सम्पदाको सदुपयोगबाट स्थानीय समुदायलाई गरिबीबाट उठाउन मद्दत मिलेको बताउनुभयो ।

मन्त्री शाहीले वनको दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास, पर्या–पर्यटन प्रवद्र्धन, कार्बन व्यापारलगायत वनसम्बन्धी गतिविधि बढाएर समृद्धितर्फको यात्रालाई सहज बनाउन सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले सामुदायिक वनमा आश्रित महिला, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समूह र युवाको समानुपातिक सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १६:३५