चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश
३ पुस, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो ।
चितवन भने बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ।
कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यस खेलको विजेता टोली भने अब फाइनलमा पुग्नेछ।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । साथै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।
चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।
ओपनर रित गौतम र गुल्सन झाले भने खाता खोल्न सकेनन् ।
प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १२:४९