३ पुष २०८१, बुधबार | Wed Dec 18 2024

चार संसदीय समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

३ पुस, काठमाडौँ । बुधबार एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ९ बजे सुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल भइरहेको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, साढे ११ बजे भने बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ ।

दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार ०९:५६