२ पुष २०८१, मंगलवार | Tue Dec 17 2024

राजस्व चुहावट र तस्करी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

२ पुस, बुटवल ।  गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा राजस्व चुहावट, तस्करी र सीमापार अपराधको समस्या र चुनौती रहेको बताउनुभएको छ ।

गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छु, गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस्।’

गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने समेत बताउनुभयो । साथै जनताको मौलिक हकअधिकारको सुनिश्चितता नै लोकतन्त्रको पूर्व शर्त रहेको उल्लेख गर्दै शान्ति सुरक्षा खलबलिने बत्तिकै मौलिक हक अधिकार गुम्ने भएकोले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २ पुष २०८१, मंगलवार १२:५९